२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेपाली कांग्रेस संकटमा पर्दैछ, देउवाले बेइमानी गर्दैछन्–रामचन्द्र पौडेल


0
Shares

congress ramchandra poudel sher bahadur deuba interview

काठमाडौं, भदौं २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको कार्यशैली र रवैयाका कारण पार्टी संकटमा पर्न लागेको आरोप लगाउनु भएको छ ।

इमेज च्यानलसँगको कुराकानीमा नेता पौडेलले सभापति देउवाले अवैधानिक ढंगले पार्टी चलाउन थालेको भन्दै आपत्ति पनि जनाउनु भयो ।

समय रहँदासम्म कामै नगर्ने र समय घर्केपछि अनेकन बहाना गर्दै पार्टीलाई अवैधानिक बनाउने खेलमा सभापति लागेको उहाँको आरोप छ । आगामी फागुनमा कुनैपनि हालत महाधिवेशन गर्नुपर्ने उहाँको माग छ ।

यो ६ महिनाको बीचमा महाधिवेशन गर्न सम्भव रहेको भन्दै उहाँले काम नगर्ने तर म्याद मात्र थप्ने विषयले समाधान नदिने बताउनुभयो ।

नेता पौडेलले सभापति देउवामा काम गर्नेभन्दा भालेवादी र भाग्यवादी शैली हावी भएको पनि बताउनुभयो ।

समयमा अधिवेशन नगराएकै कारण सबै भ्रातृ संस्थाहरु अवैधानिक रुपमा चलिरहेको भन्दै पौडेलले जसरी हुन्छ संरचना गर्ने सोचका कारण कांग्रेसको अवस्था दयनीय बनेको बताउनुभयो ।

उहाँले पार्टीलाई लोकतान्त्रिक विधि, पद्धति र व्यवहारबाट चलाउन आग्रह गर्दै सभापति देउवाले जथाभावी गर्न थालेपछि विरोध गर्नु परेको प्रष्टीकरण दिनुभयो ।

आगामी महाधिवेशनमा विचार, पद्धति र सोच मिल्नेहरुबीच एकता भई पार्टीलाई रुपान्तरणको दिशामा लैजानुपर्ने भन्दै पौडेलले आगामी नेतृत्वले पार्टीलाई फेरि एक नम्बरको बनाउनुपर्ने चुनौती रहेको बताउनुभयो ।

आफूले अवसर पाएका पार्टीलाई आगामी निर्वाचनमा जिताउने मात्र नभई मुलुकलाई नै आर्थिक रुपमा सवल राष्ट्र बनाउने सोच र दृष्टि रहेको नेता पौडेलले बताउनुभयो ।