
काठमाडौं, भदौं २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको कार्यशैली र रवैयाका कारण पार्टी संकटमा पर्न लागेको आरोप लगाउनु भएको छ ।
इमेज च्यानलसँगको कुराकानीमा नेता पौडेलले सभापति देउवाले अवैधानिक ढंगले पार्टी चलाउन थालेको भन्दै आपत्ति पनि जनाउनु भयो ।
समय रहँदासम्म कामै नगर्ने र समय घर्केपछि अनेकन बहाना गर्दै पार्टीलाई अवैधानिक बनाउने खेलमा सभापति लागेको उहाँको आरोप छ । आगामी फागुनमा कुनैपनि हालत महाधिवेशन गर्नुपर्ने उहाँको माग छ ।
यो ६ महिनाको बीचमा महाधिवेशन गर्न सम्भव रहेको भन्दै उहाँले काम नगर्ने तर म्याद मात्र थप्ने विषयले समाधान नदिने बताउनुभयो । नेता पौडेलले सभापति देउवामा काम गर्नेभन्दा भालेवादी र भाग्यवादी शैली हावी भएको पनि बताउनुभयो ।
समयमा अधिवेशन नगराएकै कारण सबै भ्रातृ संस्थाहरु अवैधानिक रुपमा चलिरहेको भन्दै पौडेलले जसरी हुन्छ संरचना गर्ने सोचका कारण कांग्रेसको अवस्था दयनीय बनेको बताउनुभयो ।
उहाँले पार्टीलाई लोकतान्त्रिक विधि, पद्धति र व्यवहारबाट चलाउन आग्रह गर्दै सभापति देउवाले जथाभावी गर्न थालेपछि विरोध गर्नु परेको प्रष्टीकरण दिनुभयो ।
आगामी महाधिवेशनमा विचार, पद्धति र सोच मिल्नेहरुबीच एकता भई पार्टीलाई रुपान्तरणको दिशामा लैजानुपर्ने भन्दै पौडेलले आगामी नेतृत्वले पार्टीलाई फेरि एक नम्बरको बनाउनुपर्ने चुनौती रहेको बताउनुभयो ।
आफूले अवसर पाएका पार्टीलाई आगामी निर्वाचनमा जिताउने मात्र नभई मुलुकलाई नै आर्थिक रुपमा सवल राष्ट्र बनाउने सोच र दृष्टि रहेको नेता पौडेलले बताउनुभयो ।
प्रस्तुत छ, इमेज च्यानलका लागि नेता पौडेलसँग पत्रकार जगदीश खरेलले लिएको अन्तर्वार्ताका मुख्य अंशहरुः
पार्टीमा भालेवादी र भाग्यवादी शैली मौलायो
मैले बल्ल मौका पाएँ । मैले जे गरे ठीक भन्ने सोच र मनोविज्ञानले सभापतिले काम गरिरहनु भएको छ । हामी भनिरहेका छौं, पार्टी लोकतान्त्रिक विधि, पद्धति र व्यवहारबाट चल्नु पर्दछ ।
देउवाले भालेवादी, भाग्यवादी शैली देखाउनु खोज्नुभयो । त्यसरी पार्टी चल्दैन । हामीले निरन्तर विभाग, भ्रातृ संगठनका प्रकरण विरोध गरिरहेका छौं । पार्टीमा भाले मौरी र कर्मी मौरीजस्तो भयो । भाले मौरी घारमा बसेर खाइरहन्छ, कर्मी मौरीले संसार डुलेर ल्याउँछ र मह जम्मा गर्छ । पार्टीमा पनि कामभन्दा भाग्यका भरमा खाने भएको छ ।
पार्टी गतिहीन भयो । गर्नपर्ने काम समयमा नगर्ने । देखावटी काम मात्र गर्ने, आफूलाई बलियो बनाउन के गर्दा सजिलो हुन्छ त्यो गर्ने शैली छ । भ्रातृ संगठनको अधिवेन नगराएर राखियो । नेविसंघ, तरुण दल, दलित संघ, प्रेस युनियन कुनै संगठनको पनि अधिवेशन गर्न दिइएन । समयमा काम पटक्कै नगर्ने । हामीले काम गर्न रोकेका होइनौं । नेविसंघ, महिला संघको अधिवेशन गर्नका लागि मानेको होइन र ?
तरुण दलको राष्ट्रव्यापी ठूलो संगठन नभएकाले पनि मिलाएरै जाउ भनेर सहमति गर्न खोजेको हो । तर त्यो पनि ठीक भएन । भाग खोजेर छाडेको नभई सल्लाहले नै तरुण दल बनाउ भनेर गरिएको हो । तरुण दल स्वयंको संगठन बनाउनुपर्ने अवस्था भएकाले मिलाएर गरौं भनेको मात्र हो ।
विभाग विस्तार र गठन मान्दैनौं
विभागहरुलाई २८ बाट ४७ बनाउन खोज्दा नामानेकै हो नि । हामीले नमान्दा नमान्दै सभापतिले एकपक्षीय रुपमा विभाग बढाउने निर्णय गरेका हुन् । त्यो निर्णय हामीले मानेकै छैनौं । उहाँले एकलौटी ढंगले चलाउन खोज्नु भएको छ । त्यो गलत हो । विभाग बढाउने कुरा महासमितिको निर्णय विपरित भयो । पहिला त विधानअनुसार दुई महिनाभित्र गठन गरिसक्नुपर्ने भन्ने थियो । अहिलेको विभानले ६ महिनाभित्र गठन गर्नुपर्ने विभाग महाधिवेशन आउने ६ महिना बाँकी हुँदा विस्तार गर्दै हुनुहुन्छ ।
विभाग बनाउँदा योग्य व्यक्तिलाई उपयुक्त स्थानमा राखौं भनेको मान्नुभएन । उहाँ संरचना कब्जा गर्ने खेलमा हुनुहुन्छ । शुरुमा सुझाव दिएका तर वास्ता गरिएन । अब हामी किन नाम दिने सभापतिले माग्दैमा ? जब विभागको संख्या बढाउने कुरा नै अवैधानिक छ भने नाम कसरी दिने ? २८ बाट ४७ पुर्याएपछि कसरी नाम दिने ? हामीले भाग खोजेको होइन । यो नीतिगत र सैद्धान्तिक वहस हो ।
विधान मिचियो । हामी मान्दैनौं । हामी यसलाई मान्यता दिँदैनौं । अब के गर्ने भन्नेमा हामी गृहकार्य गर्दैछौं । उहाँले गरेको विभाग गठनले मान्यता पाएको छैन । जितेको भन्दै विधान मिच्न पाइन्छ ? सरकारले संविधान एकातिर मिल्काएर जथाभावी गरे कांग्रेसले मान्छ ? कांग्रेसलाई, जनतालाई स्वीकार्य हुन्छ ? हो, झगडा भनेको त्यही हो ।
शक्ति हुनेले मनपरी गर्ने पनि लोकतन्त्र हो ?
हो हामीले भनेका छौं, महाधिवेशनमा धाँधली नगर्नुस् । महाधिवेशन आउँदैछ, उहाँ निर्वाचन आचारसंहिता विपरित यो सब गरिरहनुभएको छ । सक्नेले शक्ति हुनेले मनपरी गर्ने लोकतन्त्र हुन सक्दैन । चरित्रमा ल्याउन, आचरणमा ल्याउन, पद्धतिमा ल्याउन यो संघर्ष हो । संविधानको कल्पना गरे अनुसारको समावेशी विधान बनाइएको छ । तर पद्धति उल्लंघन गर्न पाइन्छ ? के विधान भनेको कागजमा सीमित बनाउने हो र ? व्यवहारमा लागु गर्नुपर्यो नि ।
जनतालाई ठग्नका लागि बनाएको हो र विधान ? संघीय लोकतान्त्रलाई साकार बनाउन पो कांग्रेसको विधान बनाएको त । सभापतिले विधान नमाने हामी खबरदारी गर्छौ, उनले गरेको कुरा पनि हामी मान्दैनौं । देउवाले आफू बाहिर हुँदा जेको विरोध भन्नुहुन्थ्यो, आफू अहिले त्यही गर्दैछन् । विधान मिचेर काम गर्दैछन् । हिजो अरुले गल्ती गरेका थिए भने त आज सच्याउनु पर्यो नि ।
त्यसैले भन्ने गरेको छु, नेपालको राजनीतिमा कम्युनिष्ट पटक पटक गल्ती गर्ने र आत्मालोचना गर्ने, कांग्रेस ढाकछोप गर्ने । तर गल्ती गरिरहने । त्यसो होइन, गल्ती सच्याउनु पर्यो र दोहोर्याउनु भएन ।
विधान अनुसार पार्टी चलोस् भन्दा नमानेपछि अब यो विवाद त महाधिवेशनमा जान्छ । यो झगडा महाधिवेशनमा पुग्ने भयो । यो उहाँ (देउवा) कै कारणले भएको हो ।
फागुनमा महाधिवेशन गर्नैपर्छ, सम्भव छ, गर्न सकिन्छ
फागुनमा महाधिवेशन गर्नै पर्दछ । त्यसका लागि फटाफट काम गर्नुपर्यो । समायोजना नै रोकिएको छ । उहाँको निकट सभापति रहेका जिल्लामा समायोजना रोकेर राखिएको छ । आठ वटा जिल्लामा । आफू अनुकूल जिल्लाहरुमा रोकिएको छ । महाधिवेशन नगराउने खेलअन्तर्गत यो भइरहेका शंका छ । भदौं भन्दा उता लैजाने ठाउँ छैन भनेर हुन्छ ? भन्ने एउटा गर्ने ठीक उल्टो ?
धेरै जिल्लामा क्रियाशील सदस्यता धेरैले बनाइसकेका छन् । तर कतिपय जिल्लामा फाराम नै दिइएको छैन । रोकेर राख्नु भएको छ । उहाँको आफ्नै जिल्ला डडेलधुरामा रोकिएको छ । उहाँसँग त्यहाँको सभापतिले तर्क ग¥यो भनेरै रोकिदिएको छ । सोलुखुम्बुमा पनि रोकिएको छ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकमा रोकिएको छ । फाराम नपठाउने, वातावरण नै नबनाउने, डेढलक सृजना गर्ने । यो बेइमानी हो ।
निर्वाचन समितिलाइ गर्न भन्नुपर्यो । इमानदार भएर काम गरेका फागुनमा गर्न सकिन्छ । कामै नगरेपछि त कसरी हुन्छ त ? एउटा बैठकबाट निर्णय हुनसक्छ सबै । एक महिनामा क्रियाशील बाँडेर सकिन्छ । एक महिना छानबिनमा लगाए पनि सकिन्छ । प्रक्रिया नाघे न समस्या आउने हो । तीन महिनामा क्रियाशील सदस्यताको छिनोफानो हुन्छ । अनि वडादेखि केन्द्रसम्मको अधिवेशन गर्न सकिन्छ । यी अधिवेशन एक महिनामा सकिन्छ । पाँच पाँच दिनको अन्तरमा सम्पन्न गर्न सकिन्छ । इमानदार भएर गर्ने हो भने सम्भव छ । बहाना बनाएर टार्ने हो भने त कहिले पनि हुन्न ।
चार वर्षे अवधिलाई साँढे पाँच वर्ष लम्ब्याएको कस्ले ?
यो कलह गर्न कस्ले बाध्य पार्यो ? जबकी, चार वर्ष हो कार्यसमितिको अवधि । तर उहाँले किन मान्नु भएन, चार वर्ष सकिने वित्तिकै अधिवेशन गरौं भन्दा ? साधारण अवस्थामा असाधारण भनेर सार्ने अनि असाधारण अवस्था आएपछि कुरा चपाउने ? मैले सभापतिजीलाई काम गर्न रोकेको छैन । मैले रोकेर एउटा काम पनि रोकिने छैन । उहाँले चाहेका बेला कुनै काम रोकिएको छैन त ।
नेविसंघ, तरुण दल, दलित संघ, पत्रकारको अधिवेशन मैले रोकेको हो र ? उहाँले टारेको हो, रोेकेको हो, नगराएको हो । आफ्नो पक्ष हार्ने भएपछि उहाँले नगराएको हो । अधिवेशनका लागि कार्यतालिका बनाउन भन्दा नसुन्ने । नत्र गएको फागुनमै महाधिवेशन हुन्थ्यो । अहिले अधिवेशन गरिसक्ने अवस्था आउँथ्यो । चीनमा कोरोना आउनु अगावै कार्यतालिका बनाउन भनेको थिएँ ।
मैले आग्रह गर्दा केन्द्रीय समितिको बैठकमा उहाँले तपाईको प्रस्ताव सुने, मिटिङ सकियो । महाधिवेशन साँढे पाँच वर्षमा हुन्छ भनेर आपत्तिजनक अभिव्यक्ति दिनुभयो । यसको जिम्मेवार को ? यो परिस्थिति ल्याउने को ?
उही बेला सकिन्थ्यो नि अधिवेशन ? कोरोनामा किन पुर्याएको ? चार वर्ष अवधि पूरा गरेपछि पनि नघाएर राख्ने । पहिले साधारण अवस्थामा असाधारण भन्दै नगर्ने अहिले असाधारण अवस्था साँच्चिकै आयो । यसरी बाध्य पार्ने ? मैले झगडा गर्न चाहेकै होइन । समयवद्ध काम गरौं भनेको हो । काम नगरेपछि झगडा आयो । मैले कलह गरेको हो र ? यत्रो चुनावमा पछि लागेर खुरुखुरु गएको होइन ? एउटा पनि काम गर्नु हुन्न । अधिवेशन नै गर्न दिनुुहुन्न । बहाना बनाएर काम नगरी बस्ने । अनि अवैधानिक ढंगले काम गरेपछि विरोध गर्नु परेन त ?
पार्टी संकटमा पर्दैछ
फागुनबाट महाधिवेशन सार्ने कुरा त्यति सजिलोसँग मान्दिन । मैले पनि अधिवेशन सर्छ भनेमा यो पार्टीको महाधिवेशन नै हुँदैन । सबैले विचार गरुन् । काम नगर्ने प्रवृत्तिका कारण यो भएको हो । अर्को डेट दिएपनि कटिन्छ । काम गर्दै जाउ अनि पुगेन भने एक दुई हप्ता, एक महिना थपेर महाधिवेशन गर्न सकिन्छ । ६ महिनामा कति काम भ्याउन सकिन्छ गरौं न पहिले । तर क्रियाशील सदस्यता नै वितरण नगर्ने, नदिने अनि म्याद थपेर मात्रै छाड्ने ?
पार्टी संकटमा पर्दैछ, यो कार्यशैलीले । उहाँ (देउवा) बेइमानी गर्दैछन् । भन्दा एउटा, गर्दा अर्को गर्ने शैली आपत्तिजनक छ । गत महासमितिको बैठकमै कार्यतालिका बनाएर महाधिवेशन जाउ भनेको थिएँ तर नमान्दाको परिणती हो यो ।
सहमतिमा अध्यक्षको उम्मेदवारी, अघिल्लो पटक प्रतिष्पर्धी रहेकाले स्वाभाविक उम्मेदवार हूँ
हो, सभापतिमा सबैको चाहना छ । मेरो पनि उमेर पुग्यो भनेका छन् । तर सबैले सल्लाह गरेर एउटा उम्मेदवार निकालौं भनेको छु । गत महाधिवेशनमा देउवाजीसँग लडेकाले मेरो दाबी वा घोषणा गरिरहनु परेन । साथिहरुले आकांक्षा प्रकट गर्नुभएको छ, सबैलाई राखेर को किन हुने भनेर सहमति गरेर घोषणा गरिने छ । ज-जसको नाम आइरहे पनि एक जना मात्र उम्मेदवारी हुनेछ ।
म बाहेक अरुले देउवालाई हराउन सक्दैन भनेर शशांकले भनेको त्यो उहाँको सोचाई हो । सबैले आ–आफ्नो दाबी गर्न पाइहाल्छ । मलाई त सबै हिजोका १३ सय कार्यकताले उठ्न भनेका छन् नि । तर त्यसो होइन, को बन्दा पार्टी समेटिने, प्रतिपक्षीसँग सामना गर्न सक्ने पार्टी कस्ले बनाउन सक्छ भन्ने विषय हामी हेर्दछौं । पुस्तान्तरणभन्दा पनि नेतृत्व चयन पोलिटिकल कुरा हो । आवश्यकताको आधारमा नेतृत्व चुनिन्छ । उमेर निर्धारक होइन ।
बिमलेन्द्र निधिले सहमतिका आधारमा नेतृत्व चुनौं भनेर ल्याएको प्रस्ताव राम्रैं हो । सहमतिको कुरा राम्रो हो तर के आधारमा सहमति गर्ने ? सबैले आफैलाई हेरेर सहमति खोजेर हुन्न । त्यो न्यायोचित हुनुपर्यो । विचार दिन सक्ने, पार्टीलाई हाँक्न सक्ने, गति दिन सक्ने र कस्को नेतृत्वमा सबै जना अट्न सक्छन्, यो सबै हेरेर सहमति बन्न सक्छ ।
मैले को योग्य र अयोग्य भन्ने हो र ? छान्ने त प्रतिनिधिले हुन् । सबै योग्य छन् । प्रकाशमान, शेखर, निधि किन अयोग्य हुनु सबै योग्य छन् । तर योग्य मध्ये योग्यतम खोज्ने हो ।
मैले जिम्मेवारी पाए पार्टीलाई आगामी निर्वाचनमा एक नम्बरको बनाउँछु
देउवासँग मिलेरै काम गरेर आएको हुँ । पार्टीमा लागेपछि मौका पाउँदा शिखरमा पुगौं भन्ने नाजायज होइन । एउटा अवसर पाएमा यो यो काम गर्छु भन्ने त भैहाल्छ । तर मेरो पदका लागि मात्रै खोजी होइन । म केही गर्न चाहन्छु, यो देशका लागि मेरा केही भिजन छन् ।
समकालीन नेताहरुले हाँकेको चित्त बुझेको छैन । उनीहरुभन्दा राम्रो गर्न सक्छु । कांग्रेस समस्यामा परेको छ । उद्धार गर्न सक्छु भन्ने आँट र हिम्मत छ । अबको नेतृत्वले पार्टीलाई विधिसम्मत, सामुदायिक सामूहिक भावनाले चलाउनु पर्दछ । सबै काम समयमा गर्ने, भ्रातृ संस्थाको अधिवेशन समयमै गर्ने, ६ महिनामा गर्नुपर्ने सबै गर्ने । सिद्धान्त र विचारलाई जनताका माझमा लैजाने । कार्यकर्तालाई प्रशिक्षित गर्ने हुनुपर्दछ ।
म सभापति भएँ भने कांग्रेसलाई आउँदो चुनावमा एक नम्बरको पार्टी बनाउँछु । निर्वाचनमा जिताउँछु । म त यो भन्छु कि म सभापति भएँ भने मात्र होएन अब आउनेले यी सबै काम गर्नुपर्दछ । कांग्रेसमा सशक्तता नहुनु नेतृत्वको कमजोरी हो । हो, मेरो भागमा पनि आउला हिस्सा तर जसको हातका डाडु पन्यु छ, उसले लिनु पर्दछ जिम्मेवारी ।
कम्युनिष्टले नारा बेचेर जनता झुक्याए, काम गरेनन्
प्रजातान्त्रिक समाजवादमा विश्वास राख्दै सामाजिक न्याय सहितको समृद्धि आजको आवश्यकता हो । कृषि क्रान्ति, पर्यटन, उर्जा, साना उद्योग व्यवसायीकरण नगरी विकास हुनेवाला छैन। नेपाली विशेषता अनुसारको विकास जरुरी परेको छ । नेपालसँग सम्पदा, सम्भाव्यता, प्रकृति सबै छ । कहाँ के उब्जनी हुन्छ, त्योअनुसारको विकासको मोडल बनाउँदै आत्मनिर्भर अर्थतन्त्रतर्फ मुलुकलाई लैजानु आवश्यक छ ।
कम्युनिष्टहरुले जनता ढाँटेर छक्याएर सत्ता पाए । तर काम गर्ने ढंग नै रहेनछ । जनतालाई के चाहिएको भन्ने बुझेकै रहेनछ । काम गर्न जानेनन् । रेल, पानीजहाज हो र आजको आवश्यकता ? सडक पक्की बनाउनुपर्नेमा कता छ ध्यान ? उनीहरुको कार्यशैलीप्रति असन्तोष छ ।
सरकारको कार्यशैली बेढंगको छ । कोरोना सामना गर्न असफल भयो सरकार । विकासको बाटोमा लैजान सकेन, परराष्ट्र नीति विफल छ । सन्तुलित विदेश नीति भएन । सन्तुलित विकास नीति अपनाउ । विदेशबाट आएको जनशक्तिलाई गाउँमा रोजगारी दिनुपर्यो ।
रेलमा पैसा लगानी गर्ने समय हो र अहिले त्यही भएर मैले त्यो ठेक्काको पनि विरोध गरेको । के मुलुकको प्राथमिकता त्यही हो ? काम गराई यस्तै हो ? कम्युनिष्ष्टले नारा दिने, गफ दिन तर काम नगर्ने ।
अब यी सबै काम गर्न सक्ने कांग्रेस बनाउने हो । भरोसाको केन्द्र हुने पार्टी बनाउने हो ।
हेर्नुस्, भिडियो अन्तर्वार्ताः
प्रतिक्रिया दिनुहोस्