
काठमाडौं, भदौ २६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको शुक्रबारको बैठकमा फरक दृष्य देखियो ।
एक महिना १३ दिनको स्थगनपछि बसेको बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालका आसन परिवर्तन गरिएको देखियो ।
दुई अध्यक्ष रहेको नेकपामा प्रधानमन्त्री र कार्यकारी अध्यक्षको दुबै अधिकार ओलीले नै प्रयोग गरेको भन्दै असन्तुष्ट बन्नुभएका दाहाललाई फकाउन ओलीलाई झण्डै डेढ महिना लाग्यो ।
डेढ महिना अगाडी आफ्नै पद धरापमा परेको ओलीले यो बीचमा पाँच वर्ष निष्कण्टक प्रधानमन्त्री हुने बाटो मात्र खुलाउनु भएन, अध्यक्ष पद पनि जोगाउनु भयो ।

त्यसका लागि दाहाललाई अध्यक्षको कार्यकारी अधिकार प्रयोग गर्न दिने सहमति गर्नुभएको थियो । सोही कार्यकारी अधिकार प्रयोगको पहिलो दिन थियो, शुक्रबारे स्थायी कमिटी बैठक ।
जहाँ नेताहरुको आसनको व्यवस्था पहिलेभन्दा फरक ढंगले गरिएको थियो । दाहालको कुर्सीको ठाउँ फेरेर बीचमा राखिएको थियो भने अर्का अध्यक्ष ओली र नेता माधव नेपाललाई दायाँवायाँ बस्ने व्यवस्था गरिएको थियो ।
दाहालको दायाँतिर प्रधानमन्त्री ओली र बरिष्ठ नेता झलनाथ खनाल तथा वायाँतिर नेता नेपाल र उपाध्यक्ष वामदेव गौतम बस्नु भएको थियो ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यकारी अधिकार प्रयोग गर्दै दाहालले स्थायी कमिटी बैठक शुरुवात गर्नुभएको थियो ।
दाहालले बैठक शुरुवात गरेपछि प्रधानमन्त्री ओली करिब २० मिनेट बैठकमा बसेर बाहिरिनुभएको तथा दाहालले बैठक सञ्चालन गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्