
काठमाडौं, भदौं २६ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबार सकिँदैछ । तर सरकारले कुनै निर्णय नगर्दा अन्यौल बढेको छ ।
शुक्रबार यतिबेलासम्म पनि सरकार प्राधिकरणमा कस्लाई कार्यकारी निर्देशक बनाउन चाहन्छ भन्ने केही खुलेको छैन । योसँगै घिसिङको पुनर्नियुक्ति हुनेमा पनि अन्यौल बढेको छ ।
२०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका घिसिङको चार वर्षे कार्यकाल भदौं २८ मा सकिँदै छ ।
प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र उर्जा मन्त्री वर्षमान पुनका अलग अलग स्वार्थ रहेकाले अहिलेसम्म पनि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अघि बढाउन नसकेको हो ।
ओली घिसिङलाई दाहो¥याउने पक्षमा नरहेको, दाहाल घिसिङ नै बनाउनुपर्ने पक्षमा तथा पुन विद्युत विकास विभागका निर्देशक नवीन सिंहको पक्षमा रहेको दाबी गरिएको छ । यसले गर्दा पनि निर्णयमा पुग्न कठिन भएको बताइएको छ ।
मन्त्रालयका सचिव दिनेश घिमिरेले प्रक्रिया शुरु नभएको तर मन्त्रालयका तर्फबाट प्रस्ताव तयार गरेर मन्त्रिपरिषदमा छिट्टै पठाइने बताउनुभएको छ ।
१८ घण्टासम्मको लोडसेडिङ हटाएर आमजनताका बीचमा वाहवाही कमाउनु भएका घिसिङ आफैले पनि एक कार्यकाल दोहोरिने चाहना राख्नुभएको छ भने प्राधिकरणको नतृत्व हत्याउन अरु थुप्रैं व्यक्तिको दौड पनि चलिरहेको छ ।
घिसिङले चार वर्षमा प्राधिकरणको ३४ अर्ब सञ्चित घाटाबाट ५ अर्ब सञ्चित नाफामा लगेकोमा प्रशंसा भइरहँदा नयाँ परियोजना र आफैले भनेका कही काम गर्न नसकेकामा आलोचना पनि भएको छ ।
प्रतिक्रिया दिनुहोस्