१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अख्तियारका पदाधिकारीलाई छानबिन गर्न रामचन्द्र पौडेलको माग


0
Shares

congress ramchandra poudel authority abuse commission

काठमाडौं, भदौं २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कार्वाही सन्देशको घेरामा परेको भन्दै छानबिनको माग गर्नुभएको छ ।

पौडेलले भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक अंग अख्तियारका क्रियाकलाप र त्यसका पदाधिकारीलाई छानबिनका लागि न्यायिक आयोग बनाउन माग गर्नुभएको हो ।

नेता पौडेलले आयोगका क्रियाकलापमाथि पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा उच्तस्तरीय न्यायिक छानबिन आयोग बनाउन भन्नुभएको छ ।

आयोगले नेपाल आयल निगमको जग्गा खरिद प्रक्रिया सम्बन्धी मुद्दालाई तामेलीमा राख्ने निर्णयप्रति आपत्ति जनाउँदै पौडेलले आयोगका अरु कामकार्वाही पनि यस्तै लापर्वाहीपूर्ण रहेकाले छानबिन माग गर्नुभएको हो ।

पौडेलले विज्ञप्ति निकाली भन्नुभएको छ, ‘यसअघिका पनि अर्बैका भ्रष्टाचार काण्डहरु चर्चामा छन् । तिनको तदारुकताका साथ छानिबन गरेर दोषी उपर कारबाही चलाउने र राष्ट्रमा भइरहेको ब्रह्मलुट रोक्ने काममा अख्तियारको ढिलासुस्ती र लापरवाही चर्चामा छन् । तसर्थ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएका यावत लापरवाहीहरु उपर छानबिन गर्न र त्यसका वर्तमान र पूर्वपदाधिकारी सदस्यहरुलाई जिम्मेवार बनाउन एकजना पूर्व प्रधानन्यायाधीशको अध्यक्षतामा सबैको भरोसायोग्य उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरियोस् भन्ने माग गर्दछु ।’