१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विद्युत प्राधिकरणमा कुलमानको कार्यकाल सकियो, सरकारले निर्णय नगर्दा अन्यौल


0
Shares

kulman retire from nea government undecided

काठमाडौं, भदौं २८ । नेपाल विद्युत् प्राधिकरण आइतबारबाट नेतृत्वविहीन भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल सकाएर आइतबार बिदा हुनुभएको छ ।

उहाँको ठाउँमा कस्लाई ल्याउने भन्नेमा सरकार अझै अनिर्णित छ । घिसिङले कार्यकाल सकाएर बिदा हुने दिनसम्म पनि मन्त्रिपरिषदमा मन्त्रालयबाट प्रस्ताव गएको छैन ।

मुलुकमा १८ घण्टा लामो लोडसेडिङ अन्त्य गराएको जस पाएका घिसिङलाई नै अर्को कार्यकाल थमौति गर्न जनस्तरबाट माग भइरहेको छ । तर सत्तारुढ दलका नेताहरुका भने अनेकन स्वार्थ बाझिएको छ ।

सोमबार बस्ने मन्त्रिपरिषद बैठकमा लैजाने प्रस्ताव पनि मन्त्रालयले तयार नै पारेको छैन, स्रोत भन्छ । यद्यपि, उर्जा मन्त्री वर्षमान पुन घिसिङलाई नै दाहोर्‍याउने पक्षमा रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल पनि घिसिङकै पक्षमा रहेको बताइएको छ । मन्त्री पुनले विकल्पमा भने विद्युत विकास विभागका निर्देशक नविन सिंहलाई तयार पारेको पनि बताइन्छ ।

उता, प्रधानमन्त्री केपी ओली भने घिसिङको पक्षमा नरहेको त्यसको सट्टा पुनर्निर्माण प्राधिकरणका सिईओ सुशील ज्ञवालीलाई लैजानुपर्ने पक्षमा रहनुभएको बताइएको छ ।

सत्तारुढ दलका नेताहरुको स्वार्थको घानमा लोडसेडिङ हटाउन र अरबौं घाटामा पुगेका प्रधिकरणलाई उल्लेख्य नाफामा ल्याउन राम्रो काम गरेको भनेर वाहवाही पाउनुभएका घिसिङ पर्नुहुने सम्भावना पनि उत्तिकै बढेको छ ।

घिसिङलाई निरन्तरता दिन चाहेको भए सरकारले उहाँको कार्यकाल नसकिँदै निर्णय गर्दथ्यो । त्यसो नगर्नुको अर्थ उहाँको कार्यवधि सकिएपछि अर्को मान्छे नियुक्त गर्न बाटो खुलाउन खोजेको प्रष्टै भएको उर्जा मन्त्रालय स्रोत भन्छ ।

२०७३ सालको भदौ २९ गते नियुक्त हुनुभएका घिसिङको कार्यकाल आज राति १२ बजेदेखि सकिन लागेको हो ।

दैनिक १८ घण्टाको लोडसेडिङ हटाएको, पुराना र रुग्ण आयोजना सम्पन्न गर्दै लगेको, घाटामा रहेको प्राधिकरणलाई चार वर्षमै ११ अर्ब रुपैयाँ नाफामा लगेको जस घिसिङ नेतृत्वलाई जनताले दिइरहेका छन् ।