
एजेन्सी, भदौं २९ । फ्रेन्च लिग वानअन्तर्गत पिएसजी र मार्सेलीबीच आइतबार राति भएको फुटबल खेलमा खेलाडीहरु खेल मैदानमा भिडन्तमै उत्रिएका छन् ।
खेलाडीहरु नै एकापसमा भिड्दा खेल मैदान ‘रणमैदान’ बन्न पुग्यो । जसमा रेफ्रीले पाँच वटा रातो कार्डसहित १७ वटा कार्ड देखाउनु परेको थियो ।
यस सिजनमा शुरुवातदेखि नै खराव प्रदर्शन गरिरहेको फ्रेन्च च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पिएसजी) मार्सेलीसँग १–० हार ब्यहोर्न बाध्य भयो ।

मार्सेलीसँगको खेलमा झगडामा उत्रिएपछि पिएसजीको सेलिब्रेटी स्टार खेलाडी नेइमारसमेत तीन जनाले लगालग रातो कार्ड पाएर मैदान छाड्नु पर्यो ।
३१ औँ मिनेटमा फ्लोरियन थाउविनले गरेको गोलले मार्सेली विजयी भएपनि खेलको अन्तिमतिर इन्जुरी समयमा खेलाडीहरुले देखाएको व्यवहार भने निकै आलोच्य देखियो ।

जसका कारण एउटै खेलमा पाँच खेलाडीले रातो कार्ड पाए पनि कूल १७ कार्ड देखाइयो । ९७ औँ मिनेटमा नेइमारले रातो कार्ड पाउँदा पिएसजीका तीन र मार्सेलीका दुई खेलाडीले रातो कार्ड पाए ।
पिएसजीका नेइमारसहित लियोन्ड्रो परेडेस र लेविन कर्जवा तथा मार्सेलीका जोर्डन एमावी र डारिओ बेनेडिट्टोले रातो कार्ड पाए ।

नेइमारलाई भने रेफ्रीले भिएआरबाट हेरेर रातो कार्ड देखाएका थिए । जहाँ नेइमारले पञ्च हानेको देखिन्छ ।
नेइमारले अल्भारो गोन्जालेजलाई पञ्च हानेका भनेर रातो कार्ड दिइएको हो । गोन्जालेजले भने नेइमारलाई पछाडिबाट टाउकोमा हिर्काएका थिए ।

नेइमारले भने आफूमाथि रंगभेदी गाली गरेपछि प्रतिरोधमा उत्रन परेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्