१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झुक्किए कुलमान, जागीरको म्याद भदौं ३० सम्म, पुनर्नियुक्तिको सम्भावना भने झिनो


0
Shares

kulman retire from nea government undecided

काठमाडौं, भदौ २९ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जागीरको म्याद भदौं ३० गतेसम्म रहेको खुलासा भएको छ ।

चार वर्षका लागि प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति पाउनु भएका घिसिङले भदौं २८ गतेसम्म आफ्नो सेवावधि भन्दै आइतबार नै प्राधिकरणबाट बिदा हुनु भएको थियो ।

तर उहाँलाई कार्यकारी निर्देशकको नियुक्ति दिँदा भने भदौं ३० गतेसम्म लेखिएकाले घिसिङको सेवावधि अझै दुई दिन रहेको उर्जा तथा जलस्रोत मन्त्रालय स्रोतले जानकारी दियो ।

मन्त्रालय स्रोत भन्छ, ‘घिसिङ आफै झुुक्किनु भएछ । नियुक्ति भएको दिनको गणनाबाट चार वर्ष ठान्नुभएको रहेछ । तर नियुक्ति पत्रमा भने भदौं ३० सम्मको मिति नै किटानी गरिएको रहेछ । मिति नै किटान गरेकाले प्राधिकरणको कार्यकारी निर्देशकमा त अझै उहाँ बहाल हुनुहुन्छ ।’

तर मंगलबारसम्म अवधि बाँकी भए पनि घिसिङ सोमबार भने कार्यालय जानु भएको छैन ।

उता, सरकारले भने घिसिङलाई फेरि प्राधिकरणको नेतृत्व नसुम्पने करिब निश्चित भएको छ । उर्जा मन्त्री वर्षमान पुननिकटको स्रोत भन्छ, ‘मन्त्री घिसिङलाई नै बनाउने पक्षमा हुनुहुन्छ । नेकपा अध्यक्ष दाहाल पनि यही पक्षमा हो । तर प्रधानमन्त्री केपी ओलीको अनिच्छाका कारण अब सम्भव देखिन्न ।’

उर्जा मन्त्रालयले सोमबार बस्ने मन्त्रिपरिषद बैठकमा पनि कार्यकारी निर्देशकबारे कुनै प्रस्ताव नलग्ने भएको छ । प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष दाहाल र मन्त्री पुनकै बीच मन मिलिनसकेकाले प्रस्ताव तयार नभएको हो ।

१८ घण्टाको लोडसेडिङ हटाएर जनताका बीचमा चर्चा कमाउनु भएका कुलमानलाई पुनर्नियुक्ति नगरेर उक्त पदमा प्रधानमन्त्री ओली आफ्ना विश्वास पात्र सुशील ज्ञवालीलाई लैजाने सोचमा हुनुहुन्छ ।

दाहाल घिसिङकै पक्षमा रहेको बताइए पनि मन्त्री पुन भने विद्युत विकास निगमका निर्देशक नविन सिंहको पक्षमा रहनु भएको दावी मन्त्रालय स्रोतको छ ।

यद्यपि, आज बस्ने मन्त्रिपरिषद बैठकमा यसबारे छलफल हुनसक्ने पनि बताइएको छ । खासगरी आजको बैठकले प्राधिकरणको कार्यकारी निर्देशक र राष्ट्रिय सभामा नेकपा नेता वामदेव गौतमको नियुक्तिबारे के निर्णय गर्ला भन्ने चासो देखिएको छ ।

प्रधानमन्त्री ओली लोडसेडिङ अन्त्य गरेको बारेमा एउटा कर्मचारीलाई घिसिङलाई एकलौटी जस दिएकामा रुष्ट हुनुभएको दाबी गरिएको छ ।