
काठमाडौं, भदौं ३१ । हिमाल आरोहणका लागि नेपाल आएका बहराइनका राजकुमार काठमाडौं उत्रिएका छन् ।
बहराइन अधिराज्यका राजकुमार नासिर बिन हामिद अल खलीफाको टिममा १८ जनाको टोली रहेको छ ।
नेपालमा लोबुचे र मनास्लु हिमालको आरोहण गर्न नेपाल आएको राजकुमारसहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
शेख इशा एयरवेजको विशेष विमानबाट काठमाडौं आएका उनीहरुलाई बहराइनमा नेपाली दूतावासले बिदाई गरेको थियो ।
बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी र ३ जना बेलायती टोलीमा रहेको जनाइएको छ । टोली नेपालमा दुई महिना बस्ने दूतावासले जनाएको छ ।
युवराजको टोलीले लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने कार्यक्रम छ । दूतावासका अनुसार पर्वतारोहणमा सहभागी हुने सदस्य तथा विमान चालक दलका सदस्य १५ दिनदेखि सेल्फ क्वारेन्टिनमा रहेका छन् ।
बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले करिब दुई महिना नेपाल बस्ने टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणपछि सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्