
सिन्धुपाल्चोक, असोज २ । वर्षाका कारण जुगल गाउँपालिका–१ सेलाङमा स्थानीयवासीका घरगोठ क्षति हुनुका साथै दर्जनौँ घर परिवार जोखिममा परेका छन् ।
पहिराको क्षति मुल्याङ्कनका क्रममा वडाभर निरीक्षण गर्दा ८८ भन्दाबढी परिवार पहिराको जोखिममा परेका वडा नं १ का वडाध्यक्ष कमल थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सेलाङको बाँधसिम्ले, काल्चे, देउराली, चेपे, खसै, सेपगाउँ र कुनेगाउँ ठाडोपाखामा पहिराले घरगोठमा क्षति तथा स्थानीयवासीलाई जोखिममा पारेको छ ।
बाँधसिम्ले गोठ पुरिँदा कमलबहादुर थापाको भैँसीसमेत पुरिएको छ । कतै घर बग्न लागेका छन् भने कतै गोठ र शौचालय क्षति भएका छन् । बाँधसिम्लेमा पोखबहादुर थापाको गोठ र शौचालय क्षतिग्रस्त हुनाका साथै घर नै जोखिममा परेको छ ।
काल्चेका चार घर क्षतिग्रस्त भएका छन् । चेपेमा १३ घर बस्न अयोग्य भएका छन् भने आहालमा छ घर उच्च जोखिममा छन् ।
३० भन्दाबढी घर परिवार बस्ने सेपगाउँ नै पहिराको कारण उच्च जोखिममा छ ।
कुनेगाउँ ठाडोपाखामा १५ घर उच्च जोखिममा छन् भने खस्रेमा पनि दुई घर जोखिममा रहेको वडाध्यक्ष थापाले बताउनुभयो । सेलाङ डाँडागाउँका थप १८ घर पनि पहिराका कारण उच्च जोखिममा परेका छन् ।
पहिराबाट जनताको ज्यान जोगाउनु नै पहिलो प्राथमिकता रहेकाले उनीहरुलाई तत्कालका लागि गाउँपालिकाबाट टेण्ट र त्रिपाल उपलब्ध गराएर सुरक्षित स्थानमा बस्न भनिएको छ ।
सङ्कटको अवस्थामा वडाभित्रका सरकारी भवन संरचनामा बस्न स्थानीयवासीलाई अनुरोध गरिएको थापाले बताउनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्