
काठमाडौं, असोज ४ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको छ ।
कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै खुल्ने भएको हो ।
दर्शनार्थीहरुले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने छ ।
दुई दुई मिटरको भौतिक दुरी कायम गर्दै दर्शन गर्न पाउने व्यवस्था मिलाउन लागिएको हो ।
विगतमा दर्शनका लागि खोलिने सम्पूर्ण ढोकाहरु खुला नभएपनि पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी भएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताउनुभयो ।
मन्दिरभित्र प्रवेश गरेपछि पुरै परिक्रममा गर्न भने पाइने छैन ।
डा. खतिवडाले सरकारले निर्देशन दिएको दोस्रो दिनपछि नै पशुपतिनाथ मन्दिर सञ्चालन गर्न सकिने अवस्था रहेको बताउनुभएको छ ।
दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै मन्दिर खुला भएपनि विशेष पूजाको व्यवस्था भने नगरिने भएको छ ।
भण्डारी र भट्टहरुलाई संक्रमणको जोखिम बढी भएकाले तत्काल विशेष पूजाको व्यवस्था नहुने उहाँले बताउनुभयो ।
अहिले नित्य पूजा नरोकिएपनि विशेष पूजा र दर्शन गर्न भने रोक लगाइएको छ ।
सरकारले अन्य सेवा क्षेत्र खुला गरेसँगै धार्मिक स्थलहरु पनि सञ्चालन गर्नुपर्ने माग राखदै केही दिन अघि पशुपति क्षेत्रमा प्रदर्शन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्