१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जुम्लाको अनशन छाडेर डा.केसी काठमाडौंतर्फ, ‘हिंसा र तोडफोड हुनसक्ने भएकाले आएँ’


0
Shares

Dr gobinda kc hunger strike

जुम्ला, असोज ५ । जुम्लामा अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै जान थालेपछि काठमाडौं पठाइएको छ ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा अनशनरत डा. केसीलाई सोमबार काठमाडौंतर्फ पठाइएको हो ।

दुई दिनदेखि अस्पतालमा भए पनि कुनै उपचार लिन नमानेपछि केसीलाई सोमबार दिउँसोको समिट एयरमार्फत् नेपालगञ्ज ल्याइएको छ ।

सोमबार डा. केसी नेपालगञ्जकै भेरी अस्पतालमा रहने र मंगलबार काठमाडौं ल्याइने जनाइएको छ ।

जुम्लाबाट काठमाडौं आउँदै गर्दा डा. केसीले विज्ञप्ति निकाली काठमाडौं आएर सत्याग्रह जारी राख्ने बताउनुभएको छ ।

चिकित्सा शिक्षामा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रमहरु तत्काल संचालन गरिनुपर्ने माग राखी उहाँ चन्दननाथ–६ रानीचौरस्थित बाविरामष्टको मन्दिरमै अनशन बस्नुभएको थियो ।

तर उहाँको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि शनिबार राति प्रहरीले डा. केसीलाई जर्बजस्ती अस्पताल पुर्‍याएको थियो ।

आफूलाई जर्बजस्ती अपहरण शैलीमा ल्याइएको भन्दै केसीले कुनै पनि उपचार लिनु भएको छैन ।

यसअघि जुम्लामा सत्याग्रह गर्दा हिंसा र तोडफोड मच्चाइएको र यसपालि पनि त्यस्तै हुनसक्ने भएकाले आफू काठमाडौं जान तयार भएको उहाँले जनाउनु भएको छ ।

डा. केसीले जुम्लामा रहेर सत्याग्रहमा साथ दिने, सहयोग गर्ने तथा शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद पनि दिनुभएको छ ।

डा. केसीले सबै माग पूरा नभएसम्म सत्याग्रह नत्याग्ने प्रष्ट गर्नुभएको छ ।