
एजेन्सी, असोज ५ । दक्षिण अफ्रिकी मुलुक बोत्स्वानामा सयौं हात्तीको रहस्यमय ढंगले मृत्यु हुनाको कारण पत्ता लागेको छ ।
पानीमा भएको ब्याक्टेरियाका कारण ती हात्ती मरेको निष्कर्ष निकालिएको बोत्स्वानाका अधिकारीहरूले जनाएका छन् ।
परीक्षणबाट हात्तीको मृत्युको कारण पानीमा पाइने साइनाउब्याक्टेरिया भएको बोत्स्वानाका वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागका भेटेरिनरी अधिकृत एममाडी रेउबेनले जानकारी दिएका छन् ।
एउटा विशेष ठाउँमा अरू जनावर नमरेर हात्तीमात्र किन मरे भन्ने प्रश्नको अझै उत्तर पाउन नसकिएको उनलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।
विभागका उपमहानिर्देशक सिरिल ताओलोका अनुसार अहिलेसम्म ३३० हात्तीको रहस्यमय मृत्यु भइसकेको छ ।
मे र जुनको बीचमा मृत्यु हुने हात्तीको संख्या २८१ रहेको जानकारी गत जुलाईमा दिइएको थियो ।
संसारकै धेरै हात्ती भएको बोत्स्वानामा मात्रै १ लाख ३० हजारभन्दा बढी हात्ती रहेको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्