
एजेन्सी, असोज ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू चुनावमा पराजीत भए सहज सत्ता हस्तान्तरण नगर्ने आशय व्यक्त गरेपछि अमेरिकी राजनीतिमा कम्पन गएको छ ।
तर रिपब्लिकन नेताहरुले भने त्यसो हुन नदिने प्रष्ट्याउँदै नोभेम्वर ३ को निर्वाचनमा जो जिते पनि सहज सत्ता हस्तान्तरण गरिने बाचा गरेका छन् ।
रिपब्लिकन नेता मिच मैककोनेल चुनाव लगत्तै एक खाले क्रमबद्ध संक्रमण रहने भन्दै ३ नोभेम्बरमा जोसुकै जिते पनि २० जनवरीमा शान्तिपूर्ण सत्ता हस्तान्तरण हुनेमा विश्वस्त रहन आग्रह गर्नुभएको हो ।
वरिष्ठ सीनेटर मैककानेलले ट्वीट गर्दै भन्नुभएको छ, ‘३ नोभेम्बरको निर्वाचनमा विजयी हुनेको पदार्पण २० जनवरीमा हुनेछ’ ‘१९७२ देखि प्रत्येक चार वर्षमा एक निर्देशित संक्रमण रहँदै आएको छ ।’
राष्ट्रपति ट्रम्पका खुल्ला समर्थक सीनेटर लिन्डसे ग्राहमलगायत अरु रिपब्लिकन सांसदले पनि सुरक्षित र निष्पक्ष निर्वाचन हुनेमा बाचा गर्नुभएको छ ।
एक दिनअघि राष्ट्रपति ट्रम्पले सहज सत्ता हस्तान्तरणलाई अस्वीकार गर्दै, ‘के हुन्छ हामी हेर्छौं’ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।
कोरोना महामारीका कारण धेरै अमेरिकीले हुलाकमार्फत् आफ्नो मताधिकार प्रयोग गर्दैछन् । तर ट्रम्पले भने आफूलाई हुलाकबाट गरिने मतदानमा विश्वास नरहेको र यसमा धाँधली हुनसक्ने जिकीर गर्दै आउनु भएको छ ।
उता ट्रम्पका डेमोक्र्याट प्रतिष्पर्धी जो बिडेनले भने ट्रम्पले ह्वाइट हाउस नछाडेमा सेनाले गलहत्याएर निकाल्ने प्रतिक्रिया दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्