१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डा. केसीको जीवन रक्षा गर्न मानवअधिकार आयोगको आग्रह


0
Shares

काठमाडौं, असोज ९ । राष्ट्रिय मानवअधिकार आयोगले विभिन्न माग राखेर अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगका सचिव वेदभट्टराईले शुक्रबार विज्ञप्ति निकालेर आयोगले चिकित्सा शिक्षा जस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

डा. केसीसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।

त्यस्तै आपसी विमतिका विषय वार्ता र संवादको माध्यमबाट समाधान गर्न तथा आमरण अनसन जस्तो जीवन नै जोखिममा पर्नसक्ने जटिल विकल्प नरोज्न पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको हो ।

चिकित्सा शिक्षा सुधारको लागि नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयनको माग गर्दै डा. गोविन्द केसी भदौ २९ गते जुम्लामा आमरण अनशन सुरु गर्नुभएको थियो ।

हाल उहाँ त्रिवि शिक्षण अस्पतालमा हुनुहुन्छ । केसीको अवस्थाबारे कर्णाली प्रदेश शाखा कार्यालय जुम्ला र प्रदेश कार्यालय बागमतीले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको आयोगले जनाएको छ ।

केसीको जीवन रक्षाका लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै नेपाल चिकित्सक संघलगायत विभिन्न संघ संस्थाहरुले आयोगमा ज्ञापन पत्र पेश गरेको पनि आयोगले जनाएको छ ।