१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सात सन्तानकी मातालाई सर्वोच्च अदालतमा लैजाने ट्रम्पको निर्णयले तातेको अमेरिकी राजनीति


0
Shares

usa judge barrett and dispute

एजेन्सी, असोज ११ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सर्वोच्च अदालतको रिक्त न्यायाधीशका लागि एमी कोनी बैरेटलाई सिफारिश गरेलगत्तै अमेरिकी राजनीतिमा तरंग सृजना भएको छ ।

सात सन्तानकी आमा बैरेटलाई ट्रम्पले आफ्नो कार्यकालको अन्तिमतिर सर्वोच्चको न्यायाधीश बनाउने सिफारिश गरेकामा अमेरिकी राजनीति विभाजित बनेको छ ।

खासगरी नयाँ राष्ट्रपतिको निर्वाचन शुरु भइसकेका समयमा निर्वाचन आचारसंहिता विपरित न्यायाधीश नियुक्त गरी दीर्घकालीन असर पुर्‍याउने खेलमा लागेको भन्दै डेमोक्र्याटहरुले आपत्ति जनाएका छन् ।

रिपब्लिकनहरुले द्वैध नीति अपनाएकोमा पनि डेमोक्र्याटहरुले आपत्ति जनाएका हुन् । यसअघि सन् २०१६ मा राष्ट्रपति बराक ओबामाले यसैगरी रिक्त भएको पदमा न्यायाधीश नियुक्त गर्न खोज्दा रिपब्लिकन सीनेटरले आपत्ति जनाएपछि रोकिएको थियो ।

ओबामाले नियुक्त गर्न खोज्दा आपत्ति जनाउने सीनेटका लागि रिपब्लिकन नेता मिच मैकनेलले यस पटक पार्टीगत फाइदाका लागि ट्रम्पको निर्णयमा समर्थन गर्ने जनाएपछि विवाद चुलिएको हो ।

जबकी सन् २०१६ मा निर्वाचन आउन दिन बाँकी हुँदा ओबामाले नियुक्ति गर्न खोजेका थिए तर अहिले जम्मा ४७ दिन बाँकी छँदा ट्रम्पले ल्याएको नियुक्तिको प्रस्तावलाई सीनेटका बहुमत नेताले साथ दिएका छन् ।

अर्कातिर ट्रम्पले जसलाई न्यायाधीशका रुपमा सिफारिश गरेका छन् उनले यसअघि विभिन्न मुद्दामा लिएका निर्णयहरुका कारण पनि बैरेटमाथि आशंका र प्रश्नहरु वर्षिएका छन् ।

नौं सदस्य न्यायाधीश रहने सर्वोच्च अदालतमा न्यायाधीश रूथ बेडर गिन्सबर्गको मृत्यु भएकाले रिक्त पदमा उदार र रुढिवादी कस्लाई नियुक्त गरिन्छ भन्ने विषयले अमेरिकी न्यायप्रणालीमा निकै अर्थ राख्छ ।

अमेरिकी अदालती इतिहासमै निकै उदार निर्णय गर्ने न्यायाधीश मानिने गिन्सबर्गको स्थानमा रुढिवादी बैरेटलाई नियुक्त गर्न खोजिएकामा पनि आशंका बढेको हो ।

गर्भपतन र समलिंगी विवाहसम्बन्धि विषयमा बैरेटले दिएको रुढिवादी रायको अमेरिकामा चर्को आलोचना भएको थियो भने । उनलाई कट्टर क्याथोलिक धार्मिक विचारवादीका रुपमा हेरिन्छ ।

बैरेट दम्पत्तिको सात बच्चा मध्ये दुई जना भने धर्म बच्चाका रुपमा ग्रहण गरिएका हुन् । यूनिभर्सिटी अफ नाट्रे डम ल स्कूलमा अध्ययन गरेकी बैरेटलाई निकै कुशाग्र न्यायाधीशका रुपमा लिइन्छ ।

बैरेटले एक प्रोफेसरका रुपमा आफ्नो व्यवसायिक जीवन शुरु गरेको जनाइएको छ । उनी वर्ष प्रोफेसरसमेत चुनिएकी थिइन् । उनलाई सन् २०१७ मा शिकागोस्थित संघीय अपील अदालतमा न्यायाधीश नियुक्त गरिएको थियो ।