
रत्ननगर, असोज १६ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट एक वर्षको अवधिमा रु. ३८ करोडको निःशुल्क उपचार सेवा प्रदान गरिएको छ ।
अस्पतालको तथ्याङक अनुसार सन् २०१९ मा अस्पतालबाट उपचारमा आउने बिरामीको स्वास्थ्य अवस्था अनुसार निःशुल्क सेवा प्रदान गरिएको हो ।
यो अवधिमा अस्पतालले म्याक्स फाउण्डेसनको सहयोगमा रक्त क्यान्सरका बिरामीलाई रु. २० करोड १९ लाख बराबरको निःशुल्क औषधि उपलब्ध गराएको छ ।
सन् २००४ देखि फाउण्डेशनले भरतपुरस्थित क्यान्सर अस्पतालमा रक्त र आन्द्रा क्यान्सरका बिरामीलाई तीन प्रकारका औषधि वितरण गर्छ ।
फाउण्डेशनले ग्लिभेक, निलोटिनिब र डासाटिनिब नामक औषधि उपलब्ध गराउँदै आइरहेको छ ।
यो औषधि अमेरिकाबाट नेपालका दुई अस्पताल पाटन अस्पताल काठमाडौँ र भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउने गरेको छ ।
अस्पतालका अनुसार हाल ६३० बिरामीले यो सेवा लिइरहेका छन् ।
त्यस्तै विपन्न सेवामार्फत रु १६ करोडको निःशुल्क उपचार खर्चको सेवा प्राप्त गरेका छन् ।
सरकारले विपन्न एवं गरिब क्यान्सरका बिरामीका लागि रु एक लाख दिँदै आएको छ ।
अस्पतालमा उपचारका लागि आउने ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई रु. १६ लाख ९६ हजार र १५ वर्षमुनिका बालबालिकालाई रु. एक करोड ६७ लाख ४१ हजार बराबरको निःशुल्क सेवा दिइएको अस्पतालले जनाएको छ ।
सन् २०१९ मा बहिरङ्ग विभागमा उपचारका लागि आउने बिरामीको सङ्ख्या एक लाख ४५ हजार ७७६ छ ।
अस्पतालमा देशभर र भारतबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् ।
अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले सरकारले विपन्न सेवामा दिने अनुदानमा वृद्धि गर्नुपर्ने बताउनुभयो ।
कार्यकारी निर्देशक गौतमले विपन्न सेवामा दिने अनुदानलाई सरकारले रु. दुई लाख पु¥याउन सके क्यान्सरका बिरामीलाई सहयोग पुग्ने बताउनुभयो ।
गएको १० वर्षको अवधिमा क्यान्सरको उपचारका लागि अस्पताल पुग्ने बिरामीको सङ्ख्या झण्डै १० गुणाभन्दा धेरैले बढेको अस्पतालको तथ्याङ्कले देखाएको छ ।
विश्वभरि क्यान्सरका विरामीहरूको तथ्याङ्क राख्ने एक संस्थाले गरेको अनुमानलाई आधार मान्ने हो भने नेपालमा वर्सेनि ५० देखि ७० हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन् ।
तीमध्ये ३५ प्रतिशत मात्रै अस्पतालमा आउने गरेका छन् ।
अस्पतालमा दर्ता भएका बिरामीहरुको सङ्ख्याको आधारमा नेपालमा तीव्ररुपमा क्यान्सर रोगी बढिरहेको चिकित्सकको भनाइ छ ।
क्यान्सरको उपचारका लागि विपन्न सेवामा रकम वृद्धि गर्नसके क्यान्सर लागेका बिरामी समयमै अस्पतालसम्म पुगे मृत्युदर पनि घट्ने चिकित्सकको अनुमान छ । रासस
प्रतिक्रिया दिनुहोस्