१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१९ दिनकी सुत्केरी चाउचाउ र बिस्कुटको भरमा एक सातादेखि पौवामा


0
Shares

अर्घाखाँची, असोज १६ । १९ दिनकी सुत्केरी २० वर्षीया विमला नेपाली एक सातादेखि शितगङ्गा नगरपालिका­१२ कोठियाको पौवामा बसेर शिशुको स्याहारसुसार गरिरहनु भएको छ ।

यही असोज ९ गते दिउँसो घर पहिराले लगेपछि उहाँ बच्चालाई लिएर पौवामा बस्नु बाध्य हुनु भएको हो ।

“बस्दै आएको घर पहिराले भत्किएपछि पौवामा बसेर ज्यान जोगाएका छौँ ।

बच्चालाई जेनतेन स्याहार गरेकी छु” उहाँ भन्नुहुन्छ, “आफूले पौष्टिक आहार खानुपर्ने समयमा अरुले दिएको राहतको चाउचाउ र बिस्कुटले चार दिन धानियो ।

पछि राहत आएपछि भात खान पाएको छु ।” उहाँ मात्र होइन, २६ दिनकी सुत्केरी सुस्मा नेपाली पनि पौवामा बस्नुभएको छ ।

उहाँ पनि पहिराले घर भत्काएपछि पौवामा आश्रय लिन बाध्य हुनुपरेको छ ।

शितगङ्गा नगरपालिकामा जमीन भासिएर पहिरो जाँदा ६१ घरपरिवार विस्थापित भएका छन् ।

उनीहरु पाटी पौवा र खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् ।

वडा नम्बर ११ र १२ मा पहिरो जाँदा झण्डै ३०० घर पहिराको जोखिममा छन् ।

सो स्थानमा जमीन धुजाधुजा भएर फाटेको छ ।

नगरपालिका­१२ कोठियामैदान क्षेत्र र वडा नम्बर ११ को ढुङ्गेसेरा क्षेत्रमा जमीन भासिँदा त्यस क्षेत्रका ३०० घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताउनुभयो ।

कोठियामैदान र ढुङ्गेसेरा क्षेत्रमा चारैतिरबाट जमीन भासिएर पहिरो गएको वडा नम्बर १२ का अध्यक्ष बाबुराम गैरेले बताउनुभयो ।

ढुङ्गेसेरा क्षेत्रमा जमीन भासिँदा पाँच घर पूर्णरुपमा भत्किएका र १३ घर पहिराको उच्च जोखिममा छन् भने झण्डै २०० घर पहिराको जोखिममा रहेका छन् ।

पहिराको क्षतिको यकिन विवरण सङ्कलन गर्न र आवश्यकताको पहिचान गर्न सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको संयोजकत्वमा एक समिति बनाइएको छ । रासस