
काठमाडौं, असोज १८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अनिश्चित बनेको छ ।
कोरोना संक्रमणका कारण आइतबार अपरान्ह बस्ने तय भएको सचिवालय बैठक स्थगित भएसंगै अनिश्चित बनेको हो ।
अर्को बैठक बस्ने मिति भने तोकिएको छैन् । प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपीशर्मा ओलीको सचिवालयका ४ जना सल्लाहकारसहित ५ दर्जनबढी सुरक्षा टोलीका सदस्यमा कोरोना संक्रमण देखिएका कारण बैठक स्थगित गरिएको जनाइएको छ ।
आफ्नै सचिवालयका सदस्य र सुरक्षा दलका सदस्यमा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका भेटघाट बन्द गर्नुभएको छ ।
यसअघि शनिवार अपरान्ह बस्ने तय गरिएको सचिवालय बैठक पनि स्थगित गरिएको थियो ।
शुक्रबार अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा सचिवालय बैठक शनिवार अपरान्ह बोलाउने सहमति भएको थियो ।
गत बिहिबार सरकारले मुख्य सचिव नियुक्ति र विभिन्न ३ देशका लागि राजदुत नियुक्तिको सिफारिस गर्ने निर्णय गरेपछि नेकपाभित्र विवाद देखिएको छ ।
सरकारले गरेको पछिल्लो राजनीतिक नियुक्तीमा असन्तुष्टि जनाएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित अन्य असन्तुष्ट नेताले सचिवालय बैठकमा प्रश्न उठाउने तयारी गरेका थिए ।
यस्तै, सचिवालय बैठकमा असोज ४ गते जनवर्गीय संगठन कार्यालय पेरिसडाडा कोटेश्वरमा बसेको सचिवालय बैठकले तय गरेका एजेण्डामा पनि छलफल हुने बताइएको थियो ।
असोज ४ गते पेरिसडाडा कोटेश्वरमा बसेको सचिवालय बैठकले छलफलका लागि मन्त्रिमण्डल पुनर्गठन,सांगठनिक एकताका बाँकी रहेका काम टुङ्गो लगाउने विषय, पार्टीका केन्द्रीय सदस्य र पूर्णकालिन कार्यकर्तालाई आर्थिक सहयोग, संवैधानिक तथा राजनीतिक नियुक्तिको मापदण्ड बनाएर सरकारलाई सुझाव दिने एजेण्डा तय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्