
काठमाडौं, असोज १८ । २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित भएका छन ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसन बस्नुभएका केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरुले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा धर्ना दिएका हुन् ।
आन्दोलित चिकित्सकहरुले विगतमा भएका सम्झौता कार्यान्वयन गर्दै केसीको जीवन रक्षाको माग गरेका हुन ।
धर्नामा सहभागि चिकित्सक डा. सुवास देवकोटाले केसीको स्वास्थ्यमा गम्भिर समस्या देखिँदा समेत सरकारले चासो नदिएको बताउनुभयो ।
स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने समस्याबाट पीडित केसीलाई आजबाट अक्सिजन समेत दिन थालिएको उहाँले बताउनुभयो ।
डा. केसीले उठाएका माग तत्काल पुरा नभए कडा कदम चाल्ने चेतावनी पनि उहाँले दिनुभयो ।
नेपाल चिकित्सक संघले पनि केसीको माग पुरा गर्न माग गर्दै चिकित्सकहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।
संघले तत्काल केसीका माग पुरा नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
संघका महासचिव बद्री रिजालले सक्दो जाँडो डा. केसीसँग सरकारले वार्ता गर्नुपर्ने बताउनुभयो ।
वार्ताका लागि कुनै पहल नभए संघले आन्दोलनका कार्यक्रम घोषणा गर्ने उहाँले चेतावनी दिनुभयो ।
डा.केसीको जीवन रक्षाको माग गर्दै काठमाडौंमा दिनहुँजसो प्रदर्शन भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्