
काठमाडौं, असोज १८ । सरकारले काठमाडौं उपत्यकाका अस्पतालमा राखिएका तर लक्षण नभएका कोरोना संक्रमितलाई १० दिनमै डिस्चार्ज गर्न भनेको छ ।
अस्पतालमा रहेका उनीहरुको १० दिनमा पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट आएमा डिस्चार्ज गर्ने निर्णय सरकारले गरेको हो ।
स्वास्थ्य मन्त्रालयमा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले यस्तो निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकाका अस्पतालमा राखिएका लक्षण नभएका बिरामीलाई १० दिनमा पीसीआर परीक्षण गरी नेगेटिभ आए घर पठाउने र पोजेटिभ आए थप चार दिन राखेर परीक्षण नगरी घर पठाउन निर्देशन दिने निर्णय भएको, गौतमले जानकारी दिनुभयो ।
अरु क्षेत्रका अस्पतालले भने निर्देशिका अनुसार नै गर्नुपर्ने उहाँको भनाइ छ ।
डा. गौतमले अत्याश्यकबाहेक घरबाहिर ननिस्किन, कुनै पनि सभा सम्मेलन र गोष्ठी नगर्न पनि मन्त्रालयको निर्देशन रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्