
काठमाडौं, असोज २१ । काठमाडौं महानगरपालिकाले उपत्यकाका विभिन्न ठाउँका बजारमा अनुगमन सुरु गरेको छ ।
महानगरपालिकाले बुधबार काठमाडौंको नक्साल, कालो पुल लगायतका ठाउँमा रहेका मार्टहरुमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा नक्साल स्थित बिगमार्टमा केही कमिकमजोरी पाइएकाले सचेत गराइएको अनुगमनमा रहनुभएका महानगरपालिका कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले बताउनुभयो ।
त्यसबाहेक कालोपुल स्थित एक मार्टको गोदाममा करिब १० लाख रुपैयाँ बराबरको म्याद गुज्रिएको सामानहरु राखिएको अवस्थामा फेला परेको उहाँले जानकारी दिनुभयो ।
उक्त मार्टलाई दुई महिना पहिले पनि सोही सामान राखेको भनि वाणिज्य विभागले कारबाही गरेको पाइएकोले एक साताभित्र विस्तृत विवरण महानगरपालिकामा बुझाउन निर्देशन दिइएको उहाँले बताउनुभयो ।
यस्तै अनुगमनमा रहनुभएका उपभोक्ताकर्मी माधव तिमल्सिनाले दशैं तिहार जस्ता ठूला चाडपर्व आउँदै गर्दा बजारमा ठूलो मात्रामा म्याद गुज्रिएका सामानहरु विक्री वितरणका लागि आएको हुन सक्ने भएकाले अनुगमनलाई तिब्रता दिनुपर्ने बताउनुभयो ।
काठमाडौं महानगरपालिकाले बजार अनुगमनका क्रममा कुनै कैफियत फेला परे वाणिज्य विभागलाई कारबाहीका लागि सिफारिस गर्दै आएको छ ।
तर निकट भविश्यमै आफ्नै कार्यविधि , निर्देशिका र नियमावली ल्याई बजार अनुगमनलाई थप प्रभावकारी बनाउन लागिएको महानगरका कृषि विभाग प्रमुख भण्डारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्