२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गगन थापाले भने– ‘प्रधानमन्त्री ओलीको सोच र शैलीका कारण कोरोना महामारी टार्न नसकिने अवस्था पुग्यौं’


0
Shares

काठमाडौं, असोज २२ । नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीको कार्यशैलीका कारण कोरोना महामारी जटिल अवस्थामा पुगेको आरोप लगाउनुभएको छ ।

समय, स्रोत, सहयोग सबै हुँदा पनि प्रधानमन्त्री ओलीको सोच र शैलीको कारण कोरोना महामारी जटिल अवस्थामा पुगेको पूर्व स्वास्थ्यमन्त्री थापाको भनाइ छ ।

पछिल्लो समय कोरोना संक्रमितलाई जटिलता हुँदा आइसोलेसनमा राखेर उपचार गर्न र सघन उपचारका लागि कहीँ बेड उपलब्ध नभएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

सामाजिक सजाल ट्वीटरमा थापाले लेख्नुभएको छ, ‘एकातर्फ काठमाडौँ बाहिर परीक्षणको संख्या घट्दै गएको छ तर चाडबाडको सम्मुखमा देशव्यापी आवागमन बढिरहेको छ । अर्कोतर्फ काठमाडौँमा कोभिड संक्रमितलाई जटिलता हुँदा न त आइसोलेसनमा राखेर उपचार गर्ने बेड छ न त सघन उपचारका लागि कहीँ बेड उपलब्ध नै छ । केही समस्या भइहाले के गर्ने, सबैमा अलमल छ ।’

थापाले लेख्नुभएको छ, ‘यो अवस्था आउन नदिन पूर्व तयारी गरौँ, यसरी गर्न सकिन्छ भनेर प्रधानमन्त्री ज्यूलाई पटक पटक नभनेको होइन तर प्रमलाई यस्तो कुरा सोच्ने फुर्सद भएन । समय,स्रोत,सहयोग सबै थियो तर तपाईँको सोच र शैलीको कारण जटिल अवस्थामा पुगेका छौँ । टार्न सकिने अवस्थाबाट चिर्नै नसक्ने जस्तो अवस्थामा पुगेका छौँ ।’

प्रधानमन्त्रीको प्राथमिकतामा महामारी नभएको भन्दै मन्त्रीमण्डल भागबन्डा भन्दा संकटबारे छलफल गर्न आग्रह गर्दै उहाँले भन्नुभएको छ, ‘योबेला पनि तपाईंको प्राथमिकतामा महामारी छैन । अहिले मन्त्रीमण्डल भागबन्डाबारे होइन, संकटबारे छलफल गर्नुस् । बेहोस भएमात्र अस्पताल जाऊ भन्ने विज्ञ होइन, वास्तविक विज्ञ र अग्रपंक्तिमा खटिएकाका कुरा सुन्नुस् ।’