१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डेमोक्रेट र बाइडेनमाथि ट्रम्पले ओकले आगो, डेमोक्रेटको कार्यक्रम कम्युनिष्टको सरह रहेको आरोप


0
Shares

trump address supporters

एजेन्सी, असोज २५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना डेमोक्र्याट प्रतिष्पर्धी जो बाइडेन र डेमोक्रेट पार्टीको आलोचना गर्नुभएको छ ।

डेमोक्रेट पार्टीको कार्यक्रम समाजवादभन्दा पनि पर कम्युनिष्टसरह रहेको आरोप उहाँले लगाउनु भएको हो । जबकी बाइडेनलाई एक उदारवादी डेमोक्रेट नेता मानिन्छ ।

कोभिड–१९ को संक्रमण भई अस्पतालमा उपचार गरी फर्किएपछि पहिलो पटक शनिबार ह्वाइट हाउसमा भेला भएका आफ्ना समर्थकहरुलाई सार्वजनिक सम्बोधन गर्ने क्रममा ट्रम्पले डेमोक्रेटप्रति निशाना साँध्नु भएको हो ।

ब्लेक्जिट नामक संस्थाले ह्वाइट हाउसमा आयोजना गरेको शनिवारे सभा खासगरी काला र ल्याटिन मतदातालाई आफ्ना पक्षमा पार्ने प्रयास स्वरुप भएको जनाइएको छ ।

सभामा ट्रम्पले अश्वेत समुदायको हितमा पूर्वराष्ट्रपति अब्राहम लिंकनपछि अरु कुनै राष्ट्रपतिले भन्दा धेरै काम आफूले गरेको दावी दोहोर्‍याउनुभयो ।

राष्ट्रपति ट्रम्पले आफ्नो समयमा अर्थव्यवस्थामा गरिएको काम, सीमामा लगाइने पर्खाल र हुलाकमार्फत् गर्न लागिएको मतदानलगायतका विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।

राष्ट्रपति ट्रम्पले आफ्नो योजनाअनुसारको सीमा क्षेत्रमा बनाइदै गरिएको २ हजार माइल पर्खाल निर्माणको काम चाँडै सकिने दावी गर्नुभयो । जबकी यो पूरै झूठो भएको अमेरिकी समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

कोभिड–१९ को उपचारका क्रममा औषधि पनि लिन छाडेका राष्ट्रपति ट्रम्पले आफूले निकै राम्रो महशूस गरिरहेको बताउनुभयो ।

तीन दिन अस्पताल बसेपनि राष्ट्रपतिको शरीरमा कोभिड संक्रमण बाँकी रहे नरहेकाबारे पनि प्रष्ट नभएको खबरहरुमा उल्लेख गरिएको छ ।

मतदानको दिन ३ नोभेम्बर नजिकिँदै गर्दा केही सर्भेक्षणहरुले ट्रम्पमाथि डेमोक्र्याट उम्मेदवार जो बाइडेनको अग्रता देखाएको छ । यसले पनि ट्रम्पका निकै छटपटी बढेको बताइएको छ ।

कोरोना भाइरससँग लड्नका लागि उचित रणनीति नलिएकै कारण २ लाख १० हजारभन्दा बढी अमेरिकीले ज्यान गुमाउनु परेको मतदाताहरुमा छाप परेको छ ।