८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


चाडपर्व कसरी मनाउने सोच्दै हुनुहुन्छ ?, सरकार त यसो भन्छ त


0
Shares

health guideline for festivals

काठमाडौं, असोज २५ । दशैं, तिहार, छठ जस्ता नेपालीका ठूला चाडहरु सम्मुखमा आएको छ । तर कारोना महामारीले मानिस र समाजलाई सन्त्रस्त बनाएको छ ।

यस्तोमा सरकारले यस वर्षको चाडपर्व मनाउनका लागि मापदण्ड नै सार्वजनिक गरेको छ । शनिबार नियमित प्रेस ब्रिफिङका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यससम्बन्धि जानकारी दिएको हो ।

सरकारले मापदण्ड मात्र जारी गरेको छैन, पालना नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० अन्तरगत कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

दशैैं तथा अन्य जात्रा तथा पर्वमा प्रसाद तथा टीका सकेसम्म वितरण नगर्न मन्त्रालयको निर्देशन छ । टीका तथा प्रसाद वितरण गर्नै परे कार्यक्रममा परिवारको एकजना मात्रै सहभागी हुनुपर्ने, सकेसम्म आयोजकले घरमै प्रसाद वितरण गर्नुपर्ने भनिएको छ ।

एउटै घरका व्यक्तिबाहेक अरुसँग भेट नगर्ने र गर्नै परे दुई मिटरको दूरी कायम गर्नुपर्ने मन्त्रालयले बनाएको नियममा उल्लेख छ । सकेसम्म घर परिवार मात्रै बसेर चाडपर्व माउन आग्रह गरिएको छ ।

चाडपर्वमा घर बाहिर नजाने र जानै पर्ने भए मास्क अनिवार्य लगाउनु पर्नेछ । धार्मिक स्थल तथा मेला पर्वमा २५ जनामात्रै भेला हुन पाउने तथा अभिवादन गर्दा टाढैबाट नमस्कार गर्नु पर्नेछ । अंगालो मार्न वा शरीर छुन पाइने छैन ।

देवीदेवताका मूर्ति नछुन, सार्वजनिक स्थालमा नथुक्न, पैसाको कारोबार गर्दा सकेसम्म विद्युतीय माध्यमको प्रयोग गर्न मन्त्रालयको आग्रह छ ।

कोरोनाको अति जोखिममा पर्ने व्यक्तिहरुले घरपरिवारका व्यक्तिबाहेक बाहिरका व्यक्ति भेला भएको ठाउँमा सहभागि नहुन मापदण्डमा उल्लेख छ ।

ज्वरो, खोकी लागेका व्यक्ति, ६० वर्षमाथि र १२ वर्ष मुनिका बालबालिका, गर्भवती र सुत्करी महिला र रोक प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई कुनै पनि कार्यक्रमा सहभागी नहुन वा सहभागी भए कार्यक्रम आयोजकले पर्याप्त स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्नेमा जोड दिएको छ ।

भर्खरै सर्जरी गरेका, अंग प्रत्यारोपण गरेका तथा दीर्घरोगीहरु तथा पछिल्लो १५ दिनमा कुनै पनि रोगबाट निको भएका व्यक्तिहरुलाई भीडभाडमा नजान भनिएको छ ।