
परासी, असोज २७ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को बर्दघाट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएका महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन गर्न अवकाश पछि रु. दुई लाख उपदान दिने भएको छ ।
राज्यले उपेक्षा गरेको भन्दै गुनासो गर्दै आएका स्वयम्सेविकाले आफूहरुको योगदानको मूल्याङ्कन गरी नगरपालिकाले एकमुष्ठ उपदान दिने निर्णय गरेको भन्दै खुशी भएका छन् ।
अब नगर भित्रका महिला स्वयम्सेविकाहरुले ६० वर्षमा सेवापछि अवकाश पाउँदा नेपाल सरकारले दिने रकमको अतिरिक्त नगरपालिकाबाट थप रु. दुई लाख एकमुष्ठ पाउने नगर प्रमुख धीरज शर्मा बस्यालले राससलाई जानकारी दिनुभयो ।
नगरसभाबाट पारित भईसकेकोले चालु आर्थिक वर्षदेखि नै यो कार्यक्रम कार्यान्वयन हुने उहाँले बताउनभुयो ।
यस निर्णयबाट सामुदायिक स्वास्थ्य कार्यक्रम थप प्रभावकारी हुने बताउँदै नगर प्रमुख बस्यालले भन्नुभयो, “समुदायमा रहेर विशेषगरी बाल मृत्युदर र मातृ मृृत्युदर घटाउन तथा स्वास्थ्य क्षेत्रमा उहाँहरुले पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै अवकाशपछि उक्त रकम दिने निर्णय गरेका हौँ ।”
बर्दघाट नगरपालिकामा ४५ जना स्वास्थ्य स्वयम्सेविका छन् । अवकाशपछि स्वयम्सेविकालाई एकमुष्ठ रु. दुई लाख प्रदान गर्ने बर्दघाट नगरपालिका नेपालकै पहिलो स्थानीय तह रहेको नगरपालिकाले जनाएको छ ।
समाजमा स्वास्थ्य क्षेत्रमा ठूलो योगदान गर्दै आएका स्वयम्सेविकाहरुले हाल अवकाश लिँदा नेपाल सरकारबाट रु. २० हजार पाउने गरेको स्वास्थ्य कार्यालय परासीका निमित्त प्रमुख कृष्णप्रसाद पोखरेलले बताउनुभयो ।
अन्य स्थानीय तहले पनि उपदान दिने गरेको तर यति धेरै रकम दिने बर्दघाट मात्रै रहेको उहाँले बताउनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्