
एजेन्सी, असोज २७ । उत्तर कोरियाली नेता किम जोङ उन रोएको भिडियो सार्वजनिक गरिएको छ ।
उत्तर कोरियाको सरकार नियन्त्रित टिचीबाट प्रशारित दृष्यमा रुँदै गरेका किमले आफ्ना नागरिकसँग क्षमा मागेको पनि देखाइएको छ ।
सात दशकदेखि सैनिक बलमा सत्तामा रहेको तानाशाही किम वंशका तेस्रा उत्तराधिकारी किम जोङ उनले नागरिकको जीवनमा सुधार ल्याउन नसकेको भन्दै माफी मागेका पनि बताइएको छ ।
वर्कस पार्टीको ७५ औं वार्षिकोत्सवको सैनिक परेडमा भावुक हुँदै किमले आफ्ना सैनिकलाई धन्यवाद दिएको र उत्तर कोरियाली जनतासँग माफी मागेको उक्त दृष्यमा देखाइएको हो ।
आँधीबेरीले पुर्याएको क्षति र कोरोना भाइरसको महामारी फैलिन रोकेकामा किमले सैनिकलाई धन्यवाद दिनुभएको हो ।
जनता खान र उपचार नपाएर मृत्युको मुखमा पुग्दा सैन्य शक्ति र सामरिक हतियार निर्माणमा सारा शक्ति लगाइरहेको उत्तर कोरियाका नेता किमले भावुक हुँदा आँशु पुछ्दै गरेको भिडिओ प्रशारण गरिएको हो ।
टेलिभिजनद्वारा सार्वजनिक गरिएको भिडिओमा कतिपय दर्शकसमेत रोएको देखाइएको छ ।
त्यसक्रममा किमले उत्तर कोरियाली एक जनामा पनि संक्रमण नदेखिएकोमा आफू कृतज्ञ भएको दाबी गर्दा अमेरिका र दक्षिण कोरियाले भने शंका गर्दै आएका छन् ।
आणविक हतियार तथा ब्यालिस्टिक मिसाइलका कारण विभिन्न राष्ट्रले व्यापारमा प्रतिबन्ध लगाएका समयमा अहिले भने कोरोनाबाट जोगिन स्वयं उत्तर कोरियाले नै अन्तर्राष्ट्रिय नाकाहरू बन्द गरेको छ ।
जसकारण उत्तर कोरियाको अर्थतन्त्रमा नराम्रो असर परेको र त्यहाँका ४० प्रतिशत जनसंख्यालाई खानपिनको अभाव हुने संयुक्त राष्ट्र संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्