१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सोह्रखुट्टेमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते (अपडेट)


0
Shares

काठमाडौं, असोज २९ । काठमाडौंको सोह्रखुट्टेस्थित नयाँ बजारको फलफूल चोकमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।

उक्त घटनामा ठूलो भौतिक क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

घाइतेमध्ये तीन जनाको मनमोहन अस्पताल ठमेल र तीन जनाको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्फोटपछि आगलागीसमेत भएको जनाइएको छ । दमकलको सहायतामा प्रहरीले आगो निभाएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीका अनुसार बिहीबार बिहान ११ः५० मा घटना भएको हो ।

विस्फोटबाट घरको भौतिक संरचना नै भत्किएको उहाँले जानकरी दिनुभयो ।

उक्त घटनाका कारण वरिपरीका घरमा समेत क्षति पुगेको जनाइएको छ ।

निलकुमारी क्षेत्रीको घरमा विस्फोट भएको हो । उहाँका श्रीमान्को हिजो मात्रै निधन भएको थियो ।

परिवार किरियामा बसेका बेलामा विस्फोट भएको जनाइएको छ ।

चारतले घरको दोस्रो तलामा ग्यास चुहिएपछि विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस