
काठमाडौं, असोज २९ । सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि परीक्षामा सहभागी हुन पाउने व्यवस्था मिलाउन लोकसेवा आयोगको नाममा अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) कार्यान्वयन नगर्न नगराउन पनि आदेश दिएको छ ।
आयोगले बनाएको उक्त बुँदामा परीक्षार्थीले आफू कोभिड–१९ संक्रमित भए नभएको स्वयं घोषणा गर्नुपर्ने तथा संक्रमित परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्न नपाउने उल्लेख थियो ।
संक्रमित व्यक्ति परीक्षा दिनबाट बञ्चित हुँदा संविधान प्रदत्त पेशा रोजगार गर्न पाउने हक, समानताको हक, स्वास्थ्य अवस्थाको अधारमा विभेदविरुद्धको हक, छुवाछुत तथा भेदभावविरुद्धको हकसमेत उल्लंघन हुने सर्वोच्चको निष्कर्ष छ ।
व्यक्तिले स्वघोषणा गर्दा परीक्षा दिन नपाउने व्यवस्थाले बहिष्करणमा पर्ने डरले संक्रमितले घोषणा नगर्ने र परीक्षामा सहभागी भएर अरु परीक्षार्थी, कर्मचारी र सम्पर्कमा आएका सबैलाई जोखिममा पु¥याउन सक्ने तर्फ इजलासले सचेत गराएको छ ।
मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म लोकसेवा आयोगका परीक्षार्थीले कोरोना संक्रमणको स्वघोषणा गर्नुपर्ने र परीक्षामा सहभागी हुन नपाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको आदेश छ ।
परीक्षार्थी, परीक्षा लिने वा व्यवस्थापनमा संलग्न हुने सबैलाई सुरक्षित तरिकाले परीक्षा लिने र परीक्षा व्यवस्थापन गर्ने वातावरण बनाउन लोकसेवा आयोगलाई सर्वोच्चले भनेको छ ।
प्रतिक्रिया दिनुहोस्