
काठमाडौं, कात्तिक २ । सर्वत्र आलोचना खेपेपछि संघीय संसदका केही सांसदले संसद सचिवालयले बाँडेको दशैं भत्ता फिर्ता गर्न थालेका छन् ।
यसक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं सांसद भीम रावलले आफ्नो दशैं भत्ता फिर्ता गर्न संसद सचिवालयलाई पत्र लेखेको जानकारी गराउनुभएको छ ।
उहाँले पत्र लेखेर आफूलाई दिइएको दशैं भत्ता फिर्ता लिन संसद सचिवालयलाई भनेलगत्तै सचिवालयले ६४ हजार ७० रुपैयाँ कात्तिक महिनाको पारिश्रमिकबाट कट्टा हुने जानकारी दिएको सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ ।
रावलले आइतबार दिउँसो प्रेस विज्ञप्ति निकाल्दै दशैं भत्ता फिर्ता हुने व्यवस्था मिलाउन संसद सचिवालयलाई आग्रह गरेको जानकारी दिनुभएको थियो ।
रावलले आफ्नो खातामा आएको पैसा फिर्ता लिन सचिवलायलाई कठिनाई हुने भए आफू सो बराबरको चेक नै पनि तयार भएकोउल्लेख गर्नुभएको थियो ।
रावलले विज्ञप्तिमा लेख्नुभएको छ, ‘देश विषम परिस्थितिमा तथा आर्थिक कठिनाइमा रहेका बेला जनप्रतिनिधिहरु, विशेषतः सांसदहरुका लागि दशैं भत्ताबापत रकम उपलब्ध नगराउने नीतिगत निर्णय नै हुनुपर्ने हो । निवेदन दिइरहनुपर्ने होइन ।’
कोरोनाको समयमा नागरिकले स्वाब परीक्षण गर्न नपाएका बेला सांसद, तिनका स्वकीय सचिवालयका कर्मचारीलाई दशैं भत्ता दिइएको भन्दै चर्काे आलोचना भएपछि केही सांसदले भत्ता नलिने जनाएका हुन् ।
यसअघि नेकपाकै अर्का नेता नारायणकाजी श्रेष्ठले पनि नलिने जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्