२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बिपी प्रतिष्ठानमा संक्रमितले ६० हजार धरौटी राखे मात्र भर्ना पाउने


0
Shares

धरान, कात्तिक ६ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

यही कात्तिक ९ गतेदेखि लागु हुने गरी प्रतिष्ठानले कोरोना सङ्क्रमितलाई चार समूहमा वर्गीकरण गरेर सोहीअनुसारको धरौटी राख्ने व्यवस्था लागु गरेको छ ।

अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साहले एक सूचना प्रकाशन गरी संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशननुसारको शुल्क निर्धारण गरिएको जनाउनुभएको छ ।

उहाँका अनुसार कुनै लक्षण नभएका सङ्क्रमितले रु. सात हजार धरौटी राख्नुपर्ने र प्रतिदिन रु. दुई हजार शुल्क तिर्नुपर्नेछ ।

हल्का लक्षण भएकाहरु रु. १२ हजार धरौटी राखेर भर्ना हुन सक्ने र प्रतिदिन रु. तीन हजार ५०० शुल्क तिर्नु पर्ने छ ।

मध्यम लक्षण भएका बिरामीले रु. ३५ हजार धरौटी र प्रतिदिन शुल्क रु. सात हजार ५०० तिर्नुपर्नेछ ।

यस्तै गम्भीर लक्षण भएका बिरामीले रु. ६० हजार धरौटी राखी दैनिक रु. १५ हजार शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

आर्थिक रुपले विपन्न, अशक्त र असहाय, असहाय एकल महिला, अपांगतायुक्त र ज्येष्ठ नागरिकलाई भने लक्षण देखिएमा सिफारिश तथा परिचयपत्रका आधारमा निःशुल्क उपचार गरिने जनाइएको छ ।

प्रतिष्ठानले पिसिआर परीक्षणका लागि रु. दुई हजार २०० शुल्क तोकेको छ ।

यसअघि प्रतिष्ठानले सङ्क्रमितको उपचार निःशुल्क गर्दै आए पनि मन्त्रालयले शुल्क लिएर उपचार गर्न परिपत्र गरेपछि शुल्क निर्धारण गरेको हो ।

सरकारले कोरोना सङ्क्रमितका हकमा १४ दिनसम्म आइसोलेशनमा बस्ने प्रावधान बनाएकामा अहिले लक्षण नदेखिएका हकमा १० दिनमै घर फिर्ता गराउने र एक सातासम्म बिरामी स्वयंले होम आइसोलेशनमा बस्नुपर्ने मापदण्ड बनाएको छ ।

प्रतिष्ठानले पनि सोही प्रोटोकललाई लागु गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । रासस