३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


चितवनमा कोरोनाबाट तीनजनाको मृत्यु


0
Shares

चितवन, कात्तिक ७ । जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीनजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा मृत्यु हुनेमा ८४ वर्षीया महिला र ७० वर्षीय पुरुष रहेको कलेजले जनाएको छ ।

राप्ती नगरपालिका–५ निवासी ८४ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार बिहान ४ः१९ बजे मृत्यु भएको हो ।

कात्तिक ५ गते श्वासप्रश्वास र उच्च ज्वरोको समस्या भई अस्पताल भर्ना भएकी उनमा ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उच्च रक्तचाप, बाथ रोग र निमोनियाको समेत समस्या रहेकी उनलाई सघन उपचार कक्षमा उपचार गरिएको थियो ।

सोही कलेजमा उपचाररत ७० वर्षीय सङ्क्रमित पुरुषको आज बिहान ८ः४४ बजे मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार भरतपुर महानगरपालिका–७ निवासी पुरुषको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।

कात्तिक २ गते श्वासप्रश्वास र मिर्गौलाको समस्या भई अस्पतालमा भर्ना भएका उनको सोही दिन कोरोना पुष्टि भएको थियो ।

उनी मिर्गौला र उच्च रक्तचापको समेत बिरामी थिए ।

यस्तै भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुषको बिहीवार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।

कात्तिक ६ गते सङ्क्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनमा असोज २६ गते कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा बसेको अस्पतालले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि उपचारका सबै उपाय गर्दागर्दै मृत्यु भएको पौडेलले जानकारी दिनुभयो । रासस