
काठमाडौं, कात्तिक ९ । अमेरिकामा राष्ट्रपति निर्वाचनको मतदान मिति जतिजति नजिकिँदै छ, उति उति राष्ट्रपति पदका प्रत्याशीका धड्कन बढ्दैछ ।
सीधा प्रतिष्पर्धामा रहेका रिपब्लिकन उम्मेदवार वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्रेट उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाइडेन अन्तिम चुनावी प्रचारमा जुट्दा प्रतिष्पर्धाको दूरी पनि छोट्टिँदो छ ।
निर्वाचन पूर्वका मत सर्भेक्षणहरुमा शुरुदेखि नै ट्रम्पमाथि दोहोरो अंकको अग्रता लिइरहनु भएका डेमोक्रेट प्रत्याशी बाइडेनले मतदानका लागि १० दिन बाँकी छँदा ८ अंकको अग्रता कायमै राख्नुभएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार कोरोना महाब्याधीलाई सही ढंगबाट व्यवस्थापन गर्न नसक्नुको मूल्य राष्ट्रपति ट्रम्पले निर्वाचनमा चुकाउनुपर्ने अवस्था आउने छ ।
यद्यपि, दुबै प्रत्याशी मतदान अगाडीको यस समयमा निकै प्रभाव पार्न सक्ने स्वीङ स्टेटहरुको चुनावी भ्रमणको दौडाहामा छन् ।

अमेरिकामा लोकप्रिय मतमा जितेर मात्र पनि पुग्दैन । त्यहाँको चुनावी व्यवस्था अनुसार सबै राज्यहरुबाट आउने इलेक्टोरल भोटमा विजय पाउनुपर्ने हुन्छ ।
यसअघि सन् २०१६ मा डेमोक्रेट उम्मेदवार हिलारी क्लिन्टनले लोकप्रिय मत जितेर पनि इलेक्टोरल मत जम्मा गर्न नसक्दा परिणाम गुमाउनु परेको थियो ।
चार वर्षअघि आफ्नो पोल्टामा पारेको केही राज्यबाट यस पटक ट्रम्पले इलेक्टोरल मतहरु गुमाउने आंकलन मत सर्भेक्षणहरुले गरेका छन् ।

संघर्षको मैदान मानिएका दर्जन राज्य दुबै उम्मेदवारको निशानामा छन् । मुख्य गरी मिसिगन, विस्कनसिन, पेन्सिलभानिया, फ्लोरिडा, ओहायो, नर्थ क्यारोलिना, एरिजोना जस्ता राज्यका मतदाताको निर्णय सँधै नै निर्णायक मानिने गरेको छ ।
यस पटक अघिल्ला निर्वाचनहरुको तुलनामा अग्रिम मतदान नै पनि निकै भइसकेको छ । मतदानको आधिकारीक शुरुवात पूर्व नै साढे पाँच करोड मत खसिसकेको बताइएको छ ।
चुनावी प्रचारका क्रममा शुक्रबार फ्लोरिडा पुग्नुभएका राष्ट्रपति ट्रम्पले त्यही आफ्नो रिसोर्ट रहेको स्थान मत खसालिसक्नु भएको छ । गत वर्षमात्र न्यूयोर्कबाट फ्लोरिडामा आफ्नो स्थायी ठेगाना सार्नुभएका ट्रम्पले शनिबार मत हाल्नु भएको हो ।
साढे ८० लाखभन्दा बढी कोरोना भाइरसबाट संक्रमित तथा २ लाख २० हजार व्यक्तिको मृत्यु भएको पृष्ठभूमिमा भइरहेको यस निर्वाचनको परिणाम कस्को पोल्टामा पुग्नेछ भन्ने जान्न भने दुई साता प्रतीक्षा गर्नुपर्नेछ ।

एजेन्सीको सहयोगमा ।
प्रतिक्रिया दिनुहोस्