१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टेकू (शुक्रराज) अस्पतालले नै धरौटी नराखी कोभिडको उपचार नगर्ने, दैनिक खर्च १५ हजार तोकियो


0
Shares

corona patient treatment fee

काठमाडौं, कात्तिक १६ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकूले कोरोना संक्रमित बिरामीले धरौटी नराखे उपचार नगर्ने जनाएको छ ।

अस्पतालले एक सूचना निकाली सरकारको निर्देशनअनुरुप भर्ना लिनुपूर्व बिरामीले धरौटी अनिवार्य जम्मा गर्नुपर्ने जनाएको हो ।

कात्तिक १४ गतेदेखि लागू हुने गरी विरामीको अवस्था हेरेर शुल्क निर्धारण गरेको सूचनामा उल्लेख गरिएको छ ।

अस्पतालले आईसीयूसहित भेन्टिलेटरमा राख्नुपर्ने बिरामीका लागि दैनिक १५ हजार उपचार खर्च तोकेको छ भने ५० हजार धरौटी रकम जम्मा गर्नुपर्ने जनाएको छ।

आईसीयूबाहेक भेन्टिलेटरमा रहेका बिरामीको दैनिक खर्च सात हजार पाँच सय लाग्ने र धरौटी ३० हजार रुपैयाँ राख्नुपर्ने उल्लेख गरेको छ ।

क्याबिन आइसोलेसनमा बस्नेले दैनिक सात हजार पाँच सय खर्च र ३० हजार धरौटी जम्मा गर्नुपर्ने छ । त्यस्तै गास्ट्रो आइसोलेसनमा बस्नेले दैनिक तीन हजार पाँच र २० हजार धरौटी जम्मा गर्न भनिएको छ ।

अस्पतालले प्रमुख वरिष्ठ कन्सल्टेण्ट र निर्देशकको लिखित निर्णयमा बिरामीको आर्थिक अवस्था, औचित्यता र आवश्यकताका आधारमा उपचार खर्चमा १० देखि शतप्रतिशतसम्म छुट दिन सकिने पनि जनाइएको छ।

७० वर्ष कटेका जेष्ठ नागरिक, अति अपाङ्गता भएका, अशक्तता र एकल महिलाको प्रमाणपत्र भएमा भने उपचार शुल्कमा १० प्रतिशतदेखि शत प्रतिशत छुट हुने उल्लेख छ ।

केहि समयअघि सरकार (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय) ले निश्चित वर्गबाहेक अरु कोभिड–१९ का बिरामीको निःशुल्क उपचार नगर्ने निर्णय गरेको थियो ।

यो निर्णयसँगै निजी अस्पतालहरुले कोभिडका बिरामीका लागि शुल्क निर्धारण गर्दा चौतर्फी बिरोध भएको थियो ।

सरकारी अस्पतालले अहिलेसम्म रकम तोकेका थिएनन् । तर आमसर्वसाधारणको उपचार गर्ने टेकू अस्पतालले नै यसरी रकम तोकेपछि उनीहरु मारमा पर्ने भएका छन् ।