
काठमडौं, कात्तिक १६ । सरकारले कोरोना संक्रमणको उपचार संक्रमितले आफ्नै खर्चमा अथवा कोरोना बीमाबाट प्राप्त हुने रकमबाट गर्नुपर्ने बताइसकेको छ ।
तर नेपालमा ६० वटा जिल्लामा स्वास्थ्य बीमा बोर्ड मार्फत आधारभूत स्वास्थ्य सेवाका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालित छ ।
‘स्वास्थ्य बीमा ऐन, २०७४’ अनुसार स्वास्थ्य बीमा गरेको व्यक्ति कुनैपनि रोगबाट बिरामी भएमा बोर्डले बीमांक रकम सम्मको खर्च व्यहोर्नुपर्छ ।
तर कोरोना संक्रमणको उपचारको सम्बन्धमा भने बोर्ड अहिले सम्म मौन रहदा बीमा गराएका लाखौं परिवारहरु अन्योलमा परेका छन् ।
सरकारले स्वास्थ्य बीमा बोर्ड मार्फत स्वास्थ्य बीमा गर्ने व्यवस्था गरेको छ ।
यस अन्तर्गत बीमा गर्ने परिवारले सबै रोगको उपचारमा आर्थिक सुविधा पाउँछन् ।
५ जना सदस्य रहेको एक परिवारले ३५ सय रुपैयाँ भुक्तानी गरेपछि एक वर्षका लागि १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा हुन्छ ।
अर्थात परिवारको कुनैपनि सदस्य कुनैपनि रोगबाट बिरामी परेमा स्वास्थ्य बीमा बोर्डले एक लाख रुपैयाँ बराबरको आर्थिक भार व्यहोर्दछ ।
तर अहिलेसम्म कोभिड संक्रमणमा परेका बिरामीको उपचारको कुनैपनि खर्चको भुक्तानी बोर्डले गरेको देखिदैन् ।
बोर्डकी कार्यकारी निर्देशक डा. राधिका थपलियाले यस सम्बन्धमा बोर्डले अहिले सम्म कुनैपनि निर्णय नगरेको बताउनुभयो ।
स्वास्थ्य बीमा ऐन, २०७४को दफा ६ मा स्वास्थ्य बीमा कार्यक्रममा समावेश नहुने सेवालाई स्पस्ट गरेको छ ।
जस अनुसार तोकिएको मूल्य भन्दा बढी रकमका चस्मा, श्रवणयन्त्र लगायतका स्वास्थ्य सम्बन्धी सहायक यन्त्र, प्लाष्टिक सर्जरी, कृत्रिम गर्भाधान सेवामा मात्रै बोर्डले भुक्तानी नगर्ने व्यवस्था छ ।
तर त्यस बाहेकका कुनैपनि रोगको उपचारमा भुक्तानी गर्नुपर्ने हुन्छ ।
तर बोर्डले विक्री गरेको बीमा पोलिसि र सरकारको पछिल्लो नीतिले बीमा पोलिसि खरिद गरेका र कोरोना संक्रमणमा परेका व्यक्ति समेत मारमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्