
काठमाडौं, कात्तिक १६ । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ ।
कोभिड –१९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको जनाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल पर्वतारोहण संघ (एनएमए) को ४७ औंँ वार्षिकोत्सवका अवसरमा आयोजित वेबिनार कार्यक्रमलाई सम्बोधन गर्दै कोभिडसँग सुरक्षित रहँदै विस्तारै पर्यटन खोल्दै जानुको विकल्प नभएको बताउनुभयो ।
सरकारले कात्तिक १ गतेदेखि पदयात्रा र हिमाल आरोहणका लागि विदेशी पर्यटक आगमन खुला गरेको थियो ।
मन्त्री भट्टराईले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै पर्यटनका अन्य क्षेत्र पनि खुला गर्ने गरी मन्त्रालयले तयारी गरेको र यो प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा लगिने बताउनुभयो ।
कोभिड महामारीका कारण कारण बन्द गरिएको अनराइभल भिसा सरकारले कात्तिक १ गते (अक्टोबर १७ ) देखि खुला गरिसकेको छ ।
पदयात्रा र पर्वतारोहण खुला भएसंँगै हालै बहराइनका राजकुमारसहितको टोली सफलतापूर्वक नेपालका हिमाल आरोहण गरी फर्किएको छ ।
यसले नेपाल कोरोनाकै बीच पनि सुरक्षित पर्यटकीय गन्तव्य हो भन्ने सन्देश गएको उल्लेख गर्दै मन्त्री भट्टराईले यसलाई उपयोग गर्दै पर्यटनका अन्य क्षेत्र पनि खोल्ने तयारी भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्