१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना बीमाको दावी भुक्तानी सात दिनभित्र देउ


0
Shares

finance ministry corona beema

काठमाडौं, कात्तिक १८ । सरकारले कोरोना बीमा गराएकाहरुको बीमा दाबी एक हप्ताभित्र गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ ।

अर्थ मन्त्रालयले बीमा समितिबाट जारी भएका कोरोना बीमालेख बमोजिमको दावी गरेका बिमितहरुको बीमाङ्क रकम एक हप्ताभित्र भुक्तानी गर्न निर्देशन दिएको छ ।

कोरोना बीमा दावी गरेका बिमितहरुको पीसीआर परीक्षण प्रतिवेदन पोजेटिभ आएपछि बीमालेख अनुसार दिनुपर्ने रकम सबै बिमितलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिन मन्त्रालयले निर्देशन दिएको हो ।

अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा भएको बैठकपछि एक हप्ताभित्र बीमा रकम भुक्तानी गर्ने कार्यको समन्वय र अनुगमन बीमा समितिले गर्न निर्देशन दिइएको छ ।

यसैगरी दैनिक दाबी भुक्तानीको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउन समितिलाई मन्त्रालयले निर्देशन दिएको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।

कोरोना बीमा दावी भुक्तानी सम्बन्धमा सेवाग्राहीबाट आएका गुनासा सुनुवाई गरी समाधानका लागि सम्बन्धित बीमा कम्पनीलाई निर्देशन दिन हटलाइन टेलिफोनसहितको हेल्प डेस्क सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ ।

छलफलमा अर्थ मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङाना, रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँ, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेलगायतको उपस्थिति थियो ।