
काठमाडौं, कात्तिक १८ । राष्ट्रपति बनेदेखि नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक राजनीतिभन्दा माथि उठ्न नसकेको आरोप लागेका राष्ट्रपति विद्या भण्डारी फेरि विवादमा तानिनुभएको छ ।
कुर्सीकाण्डमा फसेका नेताहरुका कारण नेकपा फूटतर्फ तानिएपछि एमालेकी पूर्वनेतृ रहनुभएका राष्ट्रपति भण्डारीलाई चिन्ता थपिएको हो ।
यसैक्रममा नेकपाको पछिल्लो किचलो समाधानमा भूमिका खेल्न राष्ट्रपति भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई निर्देशन दिनुभएको छ ।
मंगलबार राष्ट्रपति कार्यालय शितलनिवासमा भएको कुराकानीमा भण्डारीले नेकपा फूटतर्फ गएकामा चिन्ता व्यक्त गर्दै भूमिका खेल्न गौतमलाई आग्रह गरेको उहाँका सहयोगी विश्वमणि सुवेदीले सञ्चारमाध्यमलाई जानकारी दिनुभएको छ ।
राष्ट्रपति भण्डारीले नेकपाको विवादबारे चासो राख्दै गौतमलाई पार्टी एकता भंग हुन नदिन पहिले जस्तै भूमिका खेलिदिन आग्रह गर्नुभएको हो ।
गौतमले आफू सँधै पार्टी एकताको पक्षमा रहेकाले उक्त भूमिका खेल्ने बचन राष्ट्रपति भण्डारीलाई दिनुभएको जनाइएको छ ।
केही दिनयता नेकपाभित्र फेरि कलह चर्किएको छ । स्वयं पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई सँगै बस्न नसकिने भन्दै सल्लाहमै आ–आफ्नो बाटो लाग्न प्रस्ताव गर्नुभएको दाहालले बताउनुभएको छ ।
ओलीले पार्टी बैठकका निर्णय नमान्ने भन्दै पार्टी अलग गरौं भन्ने प्रस्ताव राखेको दाबी दाहाल पक्षको छ ।
दाहाल र माधव नेपाल पक्षले भने ओलीले यस्तो प्रस्ताव गर्नु भनेको आफै पार्टी विभाजनमा लागेको आशंका गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्