
काठमाडौं, कात्तिक २१ । नेपालीमा उखान छ, जस्तालाई तस्तै । त्यही उखानलाई साकार हुने गरी जलवायु अभियन्ता ग्रेटा थनबर्गले एउटा ट्वीट गर्नुभएको छ ।
सन्दर्भ छ, अमेरिकी निर्वाचनमा भइरहेको मतगणना र राष्ट्रपति डोनल्ड ट्रम्पले गर्नुभएको ट्वीटमा ग्रेटालले गर्नुभएको रिट्वीट ।
अहिले अमेरिकामा राष्ट्रपति निर्वाचन हार्ने अवस्थामा पुग्नुभएका ट्रम्पले अस्थीर र केही हदसम्म उत्तेजित अभिव्यक्ति दिइरहनु भएको छ ।
यद्यपि, निर्वाचनमा भइरहेको मतगणनाकाबारेमा राष्ट्रपति स्वयंले गरेका अनेकन ट्वीटलाई गलत भन्दै ट्वीटर, फेसबुकलगायतले लुकाइदिएका छन् ।
आफू चुनाव हार्ने देखिएपछि ट्रम्पले मतगणना नै रोक्न भन्दै एउटा ट्वीट गर्नुभएको थियो, ‘स्टप द काउन्ट’ अर्थात् मतगणना रोकियोस् ।
यसै ट्वीटलाई समातेर पर्यावरण संरक्षणकी अभियन्ता ग्रेटाले लेख्नुभएको छ, ‘धेरै हास्यास्पद । डोनाल्डले पहिला आफ्नो आक्रोश नियन्त्रण गर्न सिक्नुपर्छ, त्यसपछि आफ्ना साथीहरुसँग पुरानो जमानाको फिल्म हेर्न जानुपर्छ । चिल डोनाल्ड चिल ।’
यो ट्वीट ग्रेटाले ट्रम्पकै शैलीमा गर्नुभएको हो र एक वर्षअघि टाइम वर्ष व्यक्तिको उपाधि पाउँदा ट्रम्पले होच्याएको विषयलाई जस्ताको तस्तै ढंगमा जवाफ फर्काउनुभएको हो ।
सन् २०१९ मा टाइम पर्सन अफ द इयर ग्रेटालाई दिने निर्णय हुँदा ट्रम्पले ट्वीट गर्दै भन्नुभएको थियो, ‘धेरै हास्यास्पद । ग्रेटाले आफ्नो आक्रोश नियन्त्रण गर्न सिक्नुपर्छ, त्यसपछि आफ्ना साथीहरुसँग पुरानो जमानाको फिल्म हेर्न जानुपर्छ । चिल ग्रेटा चिल ।’
आफूलाई पटक पटक होच्याउने ट्रम्पलाई पनि मौका पारेर ग्रेटाले जस्ताको तस्तै जवाफ फर्काउनुभएको हो ।
जलवायुको मुद्दा अमेरिकालाई कमजोर बनाउन अरु मुलुकले उचालेको बताउनुहुने ट्रम्पको निर्णयकै कारण अमेरिका पेरिस सम्झौताबाट बाहिरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्