१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकाको पहिलो उपराष्ट्रपति बन्न सफल कमला ह्यारिस


0
Shares

us vice president kamala

एजेन्सी, कात्तिक २३ । अमेरिकी राष्ट्रपतिमा डेमोक्र्याट उम्मेदवार जो बाइडनको विजयसँग अमेरिकी इतिहासमा पहिलो पटक महिला उम्मेदवार पनि विजयी हुनुभएको छ ।

डेमोक्र्याट पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार बन्नुभएका कमला ह्यारिस अमेरिकाको इतिहासमा पहिलो पटक महिला उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

भारतीय आमा र जमैकन बाबुकी सन्तानका रूपमा क्यालिफोर्नियामा जन्मिनुभएका कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएर इतिहास रच्नुभएको हो ।

कमला उक्त पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एशियन अमेरिकन हुनुहुन्छ ।

क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसक्नु भएका उहाँ देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गर्नुभएको थियो ।

अमेरिकामा हालसम्म अन्य दुईजना महिला मात्र उपराष्ट्रपतिका लागि उम्मेदवार बनेकामा कमला ह्वाइट हाउस पुग्न सफल हुनुभएको हो ।

सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटका तर्फबाट जेरल्डिन फरारो पनि उम्मेदवार बन्नुभएको थियो ।

क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिनु भएकी ५५ वर्षीया कमला ह्यारिस डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिनु भएको थियो ।

उहाँ अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गर्नुभएको हो ।

कमला ह्यारिसको पनि बाइडेनको जस्तै राष्ट्रपति बन्ने सपना छ । यसपालि डेमोक्र्याटिक पार्टीको प्राइमरीमा उहाँ पनि बाइडेनसँगै प्रतिस्पर्धा गर्नुभएको थियो ।

७७ वर्षीय बाइडेन दोस्रो कार्यकालका लागि नउठ्न सक्ने अनुमान भएकाले कमलालाई आगामी राष्ट्रपतिको उम्मेदवार बन्न विजयी भएमा अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्न सक्ने बाटो पनि योसँगै खुलेको छ ।