१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जनमोर्चाले चैतमा चौथो राष्ट्रिय सम्मेलन गर्ने


0
Shares

काठमाडौं, कात्तिक २३ । राष्ट्रिय जनमोर्चा (राजमो) ले आगामी चैत अन्तिम साता पार्टीको चौथो राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

बुटवलमा शनिवार बसेको जनमोर्चाको बैठकले पार्टीको चौथो राष्ट्रिय सम्मेलन आगामी चैत २४ देखि २६ गतेसम्म काठमाडौमा गर्ने निर्णय गरेको हो ।

बैठकले कोरोना महामारीलाई दृष्टिगत गरी आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले आसन्न चौथो महाधिवेशनको लागि जिल्ला र प्रदेश समितिबाट सम्मेलनमा भाग लिन आउने प्रतिनिधिको संख्या पनि तोकेको छ ।

पार्टीको तेस्रो सम्मेलनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिको समयावधि आगामी फागुनमा सकिँदैछ ।

यस्तै, बैठकले संघीयता र सरकारका गलत कामविरुद्ध आगामी मंसिर १४ गते देशव्यापी विरोध कार्यक्रम गर्ने जनाएको छ ।

संघीयताले मुलुकको राष्ट्रियता,राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई कमजोर पार्दै क्षेत्रीय द्वन्द्वलाई बढावा दिएको बैठकले निष्कर्ष निकालेको छ ।

कोरोना महामारीको समयमा कोरोना उपचारका क्रममा मेडिकल माफियाहरुको चलखेल बढेको भन्दै जनमोर्चाले सरकारको ध्यानाकर्षण गराउनुको साथै प्रधानमन्त्री केपीशर्मा ओलीले भारतीय गुप्तचर निकाय ‘रअ’ का प्रमुखसंग गरेको भेटघाटप्रति विरोध जनाएको छ ।