१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाविरुद्धको खोप एक महिनामै आउने, नयाँ वर्षको शुरुमा सर्वसाधारणमा पुग्ने दाबी


13
Shares

corona vaccine astrazenca

एजेन्सी, कात्तिक २३ । संसारको मानव जीवनलाई नै त्राहिमाम् बनाइरहेको कोरोनाविरुद्धको खोप एक महिनाभित्र नै आउने दाबी गरिएको छ ।

बेलायतस्थित एस्ट्राजेनेका फार्मासियुटिकल्सका सिइओले आगामी डिसेम्बर अन्त्यसम्ममा कोरोना भाइरस खोप तयार भइसक्ने दाबी गरेका हुन् ।

नियमन गर्ने निकायहरूले अनुमति दिएमा डिसेम्बरलगत्तै खोप सर्वसाधारणले प्रयोग गर्न पाउने कम्पनीका सिइओ पास्कल सोरियटले बताएका हुन् ।

साउथ चाइना मर्निङ पोस्टले एस्ट्राजेनेकाका सिइओ सोरियटलाई उधृत गर्दै लेखेको छ, ‘नियमनकारी निकायहरू निरन्तर हाम्रा तथ्यांक निगरानी गरिरहेका छन् । हामीले खोपका सबै काम सकिसक्दासम्म उनीहरूले पनि आफ्नो काम सके भने जनवरीदेखि हाम्रो खोप उपलब्ध हुनेछ । अझ डिसेम्बर अन्तिमदेखि नै सर्वसाधारणले खोप लाउन सक्नेछन् ।’

बेलायतमा अक्सफोर्ड विश्वविद्यालयसँग सहकार्य गरी बेलायती र स्वीडिस कम्पनी एस्ट्राजेनेका खोप निर्माणमा जुटिरहेको छ । एस्ट्राजेनेकाले ल्याउने खोपप्रति संसारकै चासो बढेको छ ।

गत सेप्टेम्बरमै परीक्षणको तेस्रो चरणमा गएको यो खोप सर्वसाधारणमा उपलब्ध हुनसके कोभिड–१९ लाई नियन्त्रणमा लिन सकिने विश्वास वैज्ञानिकहरुको छ ।

खोप निर्माता कम्पनीले यो खोप कति पटकसम्म लगाउनुपर्दछ भन्ने यकिन नभएको भन्दै खोपले कस्तो काम गर्छ त्यसमा निर्भर हुने पनि बताएका छन् ।

एस्ट्राजेनेकाको खोप पाउनका लागि युरोपियन युनियन, अमेरिका, बेलायत, जापान र ब्राजिलले पहिल्यै सम्झौता गरिसकेका छन् ।

कोभिड–१९ भाइरसविरुद्धको खोप बनाउन यो अलावा चीन, रुस, भारत, अमेरिका पनि जुटिरहेका छन् ।