
काठमडौं, मंसिर ३ । काठमाडौं महानगरपालिकाले ठाउँको व्यवस्थापन गरिदिएपछि खुलामञ्चमा सञ्चालन हुदै आएको निःशुल्क खाना खुवाउने अभियानलाई थापाथलीस्थित प्रसूति गृह पछाडि सारिएको छ ।
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पछाडिपट्टी रहेको खुला ठाउँ उपलब्ध गराएपछि आजदेखि सोही ठाउँमा निःशुल्क खाना खुवाउन लागिएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताउनुभयो ।
नयाँ ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँ लगायतका पूर्वाधार निर्माण महानगरपालिकाले गरिदिने सम्झौता भएको पनि अध्यक्ष पन्तले जानकारी दिनुभयो ।
उहाँले काम नपाएर भोकै बस्नुपर्ने स्थिति आएमा प्रत्येक दिन विहान ९ बजे थापाथलीस्थित व्यवस्था गरिएको ठाउँमा खाना खान आउन समेत आग्रह गर्नुभयो ।
महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले असाहय अशक्तलाई भोजन गराउने संघ संस्थाकै अनुमतिमा महानगरपालिकाको पहलमा नयाँ ठाउँको व्यवस्था गरिएको बताउनुभयो ।
निःशुल्क भोजन गराउने स्थानमा सौचालय, पानी सहितको संरचना निर्माण महानगरपालिकाले गरिदिने पनि सापकोटाले बताउनुभयो ।
यसबाहेक काठमाडौं महानगरपालिकाले काम गर्न सक्नेका लागि हप्तामा दुई दिन काम दिने व्यवस्था गरेको जनाएको छ ।
त्यसका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्