१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


अमेरिकामा कोरोनाबाट २ लाख ५० हजारको मृत्यु, संसारभर झण्डै साढे १३ लाखको लियो ज्यान


0
Shares

काठमाडौं, मंसिर ४ । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई लाख ५० हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार १८० पुगेको हो ।

चीनको वुहान शहरबाट ठीक एक वर्षअघि शुरु भएको कोरोना महामारीबाट विश्वमै सबैभन्दा बढि मानिसको मृत्यु अमेरिकामा भएको छ ।

अमेरिकामा संक्रमितको संख्या नै एक करोड १५ लाख नाघेको छ । कोभिड उत्कर्षमा रहेकै बेला अमेरिकी निर्वाचन गरिएकाले त्यसको असर कोरोना संक्रमितको बढ्दो संख्यामा परेको देखिन्छ ।

पछिल्ला हप्ताहरुमा अमेरिकामा संक्रमण दर तीव्र गतिमा बढेको छ । गत गर्मी याममा महामारीको इपिसेन्टर बनेको न्यूयोर्कले बिहीबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सीएनएनका अनुसार यो दश महिनामा कोरोनाबाट मृत्यु हुनेको संख्या अमेरिकामा मृत्यु हुने अरु केही कारणलाई उछिनेको छ भने केहीभन्दा अझै पछि पनि छ ।

वर्षेनी कार दुर्घटनामा परेर मुत्यु हुने २४ हजारका तुलनामा यो दश गुणा बढी हो । मौसमी रुघाखोकीबाट मृत्यु हुने ४२ हजारका तुलनामा यो पाँच गुणा बढी हो । आत्महत्याबाट मृत्यु हुने साढे ४५ हजारको तुलनामा पनि पाँचै गुणा बढी मृत्यु हो ।

अमेरिकामा हुने सबैभन्दा बढी मृत्युको कारण मानिएको मुटु रोग जसबाट वर्षेनी ६ लाख ७० हजारभन्दा बढी (दैनिक २३५३ जना) को मृत्यु हुने गरेको छ, त्यसको तुलनामा कोभिडबाट मृत्यु हुनेको संख्या सानो देखिन्छ ।

दोस्रो ठूलो मृत्युको कारण मानिने क्यान्सर जसबाट वर्षेनी ६ लाख १२ हजार मानिसले ज्यान गुमाइरहेका छन् । यद्यपि, अहिलेको गतिमा कोरोना संक्रमितको संख्याले आकार लिएमा दैनिक २५ सय व्यक्तिको मृत्यु हुनसक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

तेस्रो मृत्युको कारक मानिएको स्ट्रोक (आघात) बाट करिब १ लाख ४२ हजार व्यक्तिको ज्यान गएको तुलनामा यो संख्या बढी रहेको जनाइएको छ ।

विश्वभर कोभिड–१९ बाट १३ लाख ४६ हजार सात सयभन्दा धेरैको मृत्यु हुँदा संक्रमितको संख्या पाँच करोड ६१ लाख ८ हजार नाघेको छ ।