
काठमाडौं, मंसिर ४ । चालु आर्थिक वर्षको प्रथम चौमासिकमा राजस्व संकलन अघिल्ला वर्षहरुमा झै वृद्धि नभएपनि लक्ष्य भने भेटिने आन्तरिक राजस्व विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको प्रथम चौमासिकमा १ खर्ब ११ अर्ब ६ करोड राजस्व संकलनको लक्ष्य भएपनि कार्तिक मसान्तसम्म १ खर्ब ६ अर्ब ४५ करोड अर्थात ९५ दशमलब ६५ प्रतिशत राजस्व संकलन भएको विभागले जनाएको छ ।
अघिल्लो वर्षको यसै अवधिमा राजस्व संकलन लक्ष्यको ८४ प्रतिशत भएको थियो ।
गत वर्षको यसै अवधिमा १ खर्ब २५ अर्ब १ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १ खर्ब ५ अर्ब ८३ करोड संकलन भएको थियो ।
लकडाउनको अवधीमा गत बैशाखमा सो महिनाको लक्षित राजस्वको जम्मा १० दशमलब २५ प्रतिशत मात्रै संकलन भएकोमा जेठ महिनामा ४६ प्रतिशत र असारमा शतप्रतिशत राजस्व संकलन भएको छ ।
साउनमा ९९ प्रतिशत, भदौमा ९५ प्रतिशत, असोजमा ९६ तथा कात्र्तिक महिनामा ९१ प्रतिशत राजस्व संकलन भएको छ ।
अघिल्ला वर्षहरुमा २० प्रतिशत सम्म वृद्धि हुने गरेको भएपनि यस वर्ष यसरी बढ्न भने सकेको छैन ।
तर यसै अनुसार राजस्व संकलन भएमा सरकारले लिएको लक्ष्य भने पुग्ने विभागका प्रवक्ता अर्जुन ढकालले बताउनुभयो ।
कोभिड महामारीकै बिचमा पनि करदाताले उत्साहित रुपमा नै कर तिरेको प्रवक्ता ढकालले उल्लेख गर्नुभयो ।
कोभिड र लकडाउनका कारण लामो समयसम्म आयकर र मुल्य अभिवृद्धि करमा केही कमी आएको थियो ।
सरकारले चालु आर्थिक वर्षमा ९ खर्ब १२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया दिनुहोस्