
एजेन्सी, मंसिर ६ । तिब्बतका नेता ६० वर्षमा पहिलो पटक अमेरिकी राष्ट्रपतिको निवास ह्वाइट हाउस छिरेका छन् ।
निर्वासनमा रहेका तिब्बत सरकारका प्रमुखले ६ दशकमा पहिलो पटक अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस छिरेका हुन् ।
चीनले अमेरिकामाथि तिब्बतमा अस्थिरता फैलाउन खोजेको आरोप लगाइरहेका बेला तिब्बती सरकार प्रमुखलाई ह्वाइट हाउसमा स्वागत गर्ने कार्यबाट दुई देशबीचको सम्बन्धमा थप तिक्तता आउने अनुमान गरिएको छ ।
अमेरिकी समयअनुसार शुक्रबार केन्द्रीय तिब्बती प्रशासनका अध्यक्ष लोबसांग सान्गेलाई तिब्बती मामिला हेर्ने अमेरिकी विशेष संयोजक रोबर्ट डेस्ट्रोसँग भेटघाटका लागि बोलाइएको हो ।
भारतको धर्मशालास्थित तिब्बती प्रशासनले दुई पक्षबीच अभूतपूर्व वैठक भएको र यो आगामी दिनमा अझै घनिभूत र औपचारिक बन्ने बताएको रोयटर्सले जनाएको छ ।
विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनबीच तिब्बतमा दलाई लामाको सरकार अपदस्थ गरी बेइजिङको शासन लादेसँगै विवाद रहँदै आएको छ ।
गएको जुलाईमा अमेरिकी विदेश मन्त्री माइक पोम्पिओले तिब्बतमा बेइजिङबाट मानवअधिकार उल्लंघन भइराखेको आरोप लगाउँदै तिब्बतको सार्थक स्वात्तताका लागि अमेरिकी समर्थन रहने बताउनुभएको थियो ।
जबकी चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा तिब्बत र हङकङमा चिनियाँ अखण्डतामाथि खेल्न खोज्नेहरुलाई धूलिसात् बनाइने भन्दै कडा चेतावनी दिनुभएको थियो ।
चीनले भने सामन्ती अतितबाट तिब्बतलाई बाहिर निस्कन सहयोग गरे पनि सन् १९५० को नियन्त्रणलाई शान्तिपूर्ण मुक्तिका रुपमा ब्याख्या गर्दै आएको छ ।
तर निर्वासित आध्यात्मिक नेता दलाई लामा पक्षधर नेतृत्वले भने उक्त घटनालाई बेइजिङको सांस्कृतिक नरसंहारको संज्ञा दिने गरेका छन् ।
राष्ट्रपति सीले अगस्तमा मात्रै पनि चीनको राष्ट्रिय एकता रक्षाका लागि तिब्बतमा एक अभेद्य किल्ला निर्माण आवश्यक रहेको बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्