
प्रकाश नेपाल (इमेज)
इलाम, मंसिर ७ । सुर्योदय दृश्यावलोकनका लागि इलामका विभिन्न स्थान परिचित छन् ।
जिल्लाको सन्दकपुर, अन्तुडाँडा, झण्डीडाँडा सुर्योदय दृश्यावलोकनका लागि चर्चित ठाँउहरु भएपनि पछिल्लो समय रोङमा रहेको गुगल डाँडाले समेत चर्चा पाउन थालेको छ ।
जहाँ बाट सुर्योदयको मनोरम दृश्यका साथै हिमाल र तराईका सुन्दर फाँटहरु देख्न सकिन्छ ।
झापासँग सिमाना जोडिएको इलामको रोङ गाउँपालिकाले सुर्योदय दृश्यावलोकनका लागि नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरेको छ ।
एक हजार आठ सय २५ मीटर उचाईमा रहेको गाँउपलिकाको वडा नम्बर ३ मा पर्ने भूमापन केन्द्र रहेको गुगल डाडाबाट सुर्योदयका साथै हिमाल पहाड तराईको सहजै दृश्यावलोकन गर्न सकिने गाउँपालिका अध्यक्ष शमशेर राई बताउनुहुन्छ ।
पछिल्लो समय यहाँ घाम झुल्केको हेर्नेको भीड नै जम्मा हुन थालेको छ ।
इलामको कन्याम चिया बगान र सानो पाथीभरा मन्दिरकोबीच भागमा रहेको गुगल डाँडाबाट कञ्चन्जंगा लगायतका हिम श्रृखला अवलोकन गर्न सकिन्छ ।
कन्याम चियाबारी माथि हिमालको दृश्यले मनै लोभ्याउने आकर्षण थपेको छ ।
यति मात्र होइन झापा लगायत भारतका समेत विभिन्न शहरको दृश्य हेर्न सकिने स्थानिय बताउछन् ।
मेची लोकमार्गको नजिकै रहेको गुगल डाँडासम्म पदमार्ग निर्माणमा गाउँपालिका जुटेको छ ।
नजिकै रहेका कन्याम चियाबारीका साथै हाँसपोखरी ,पाथीभरा देविको मन्दिर क्षेत्र समेटेर नयाँ गन्तव्यको रुपमा गुगल डाँडालाई विकास गर्न सकिने सम्भावना देखिएको छ ।
यस क्षेत्रलाई प्रचारप्रसार गर्न सके इलामको एक अब्बल पर्यटकीय क्षेत्र बन्नेमा दुईमत छैन तर तिनै तहका सरकारको एक साथ नजर पुग्न भने जरुर देखिन्छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्