२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


चितवन घटनाले चुलियो नेकपा विवाद


13
Shares

यज्ञराज पाण्डे र राममान डंगोल (इमेज)

काठमाडौं, मंसिर ७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला शनिबार चितवनमा भएको घटनाले नेकपाभित्र थप चर्को ध्रुविकरणको खतरा बढाएको छ ।

मंसिर १३ मा बस्ने सचिवालय बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल हुने तयारी भइरहेका बेला चितवनमा वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने नेतामाथि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षका कार्यकर्ताले दुव्र्यवहार गरेपछि नेताहरुबीच व्यक्तव्यबाजी र आरोप–प्रत्यारोपको ओइरो लागेको छ ।

यसले नेकपाभित्र ओली र दाहाल–नेपाल समूहबीचको विवाद र ध्रुविकरणलाई उत्कर्षमा पुर्‍याएको छ ।

नेकपाको पछिल्लो विवादमा ओली र दाहाल–नेपाल समूह विभाजित छ भन्ने कुरा अब पार्टी पङ्क्तिमा मात्र नभई सर्वसाधारणमै छर्लङ्ग भैसकेको छ ।

केही दिन अघि पर्सामा नेकपाका विभाजित कार्यकर्ताबीच भएको झडपको राप नसेलाउँदै शनिबार चितवनको घटनाले केन्द्रमा दुई अध्यक्षबीच चुलिएको विवादमा नेकपाभित्र जिल्ला तहसम्मै चर्को धु्रविकरण रहेको प्रष्ट्याएको छ ।

ओलीपक्षका कार्यकर्ताले नेता नेपाल निकट मानिने स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा हुलदंगा र नाराबाजी गरेपछि शनिबार साँझ वरिष्ठ नेता नेपाल, झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भिन्दाभिन्दै विज्ञप्ति प्रकाशित गर्दै घटनाको निन्दा गरेका छन् ।

पार्टी अध्यक्ष पुष्मकमल दाहाल र नेपाल पक्षका नेताहरुबाट जारी भएका विज्ञप्तीमा नेता पाण्डेमाथि सुनियोजित रुपमै दुव्र्यवहार गरिएको आरोप लगाइएको छ ।

केन्द्रको विवाद जिल्ला तहमा पुग्नु नेतृत्वमा स्वार्थको द्वन्द्वको पराकाष्ठा नै भएको ओली पक्षको तर्क छ ।

त्यसो त घटनापछि सामाजिक सञ्जालमै नेताहरुबीच जुहारी चलेको छ ।

नेपाल–दाहाल पक्षबाट व्यक्तव्य जारी गर्ने होडबाजी चलेपछि ओली पक्षका नेताहरु त्यसको कटाक्षमा उत्रिएका हुन् ।

नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नामै नलिएपनि दाहाल–नेपाल समूहका स्वार्थले नेतृत्वलाई खइल्याउने र पार्टी कमजोर बनाउने गरेको आरोप लगाउनु भएको छ ।

प्रधानमन्त्रीकै प्रेस सल्लाहकार सुर्य थापाले त चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा दाहाल–नेपाल पक्षबाट सुनियोजित दुव्र्यवहार देख्नुलाई गुटगत अन्तदृष्टिको संज्ञा दिनुभएको छ ।

नेकपा नेतृ रामकुमारी झाँक्री भने नेतृत्वको पृष्ठपोषणकै कारण अपराधलाई राजनीतिकरण गर्ने प्रवृत्ति बढ्दै गएको टिप्पणी गर्नुहुन्छ ।

चितवनको घटनाले नेकपा विवादमा ओली समूह अराजकता र निषेधको राजनीतितिर प्रवेश गरेको माधव नेपाल समूहको निष्कर्ष छ भने ओली समूहले इतरसमूहले गरेको स्वार्थको राजनीतिले पार्टी र नेतृत्वलाई खुइल्याउने र कमजोर बनाउने गरेको निष्कर्ष छ ।

आन्तरिक कलहबाट गुज्रिरहेको पार्टीमा समाधानका उपाय खोजी भइरहँदा पछिल्ला घटनाले नेकपाभित्रको ध्रुविकरण भने उत्कर्षमा पुर्‍याएको छ ।