
चितवन, मंसिर ८ । चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राप्ती नगरपालिका–१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा भेपाङलाई हात्तीले आक्रमण गरेको हो ।
४० वर्षीया श्रीमती विष्णुमाया चेपाङसहित निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत दोभान नजिक घाँस काट्न गएका उनलाई हात्तीले आक्रमण गरेको थियो भने श्रीमती बच्न सफल भएकी छिन् ।
चितवन राष्ट्रिय निकुञ्जले निज व्यक्ति कुनै किसिमको अनुमति तथा जानकारी बिना नै अनधिकृतरूपमा निकुञ्जको कोर इलाका प्रवेश गरेको जनाएको छ ।
यसैबीच तस्करले गैँडा मारेको फेला परेपछि चितवन राष्ट्रिय निकुञ्जमा नेपाली सेनाले स्वीप अप्रेशन तीव्र पारेको छ ।
निकुञ्ज कर्मचारी र नेपाली सेनाको बटुक दल गणले विगत १ महिनदेखि सुरु गरेको विशेष अभियान तीव्र पारेको हो ।
हात्ती, डुङ्गा, गाडी, साइकल र पैदल गस्तीसहित स्वीप अप्रेशन अझै एक महिना जारी रहने नेपाली सेनाको बटुक दल गणका गणपति अरुण श्रेष्ठले जानकारी दिनुभयो ।
विगतका वर्षमा अधिकांश चोरीशिकारीका घटना यसै मौसममा हुने गरेको तथ्यांकले देखाएको छ ।
पोष्ट नभएका क्षेत्रमा रातमा पोष्ट खडा गरी बस्ने काम पनि गरिएको छ ।
सेनाले नकुञ्जको कोर इलाकामा पर्ने नारायणी नदीको लामिचौर र डुंगाघाट क्षेत्रबाट माछा मार्नको लागि छाप्रो बनाई बन्दोबस्तीका साथ बसेका ३१ जना मानिसहरुलाई पक्राउ गरी निकुञ्ज प्रशासनलाई बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस्