
काठमाडौं, मंसिर ९ । वैदेशिक रोजगार व्यवसायीहरुले खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले मागपत्र स्वीकृत नगरिदिदा वैदेशिक रोजगारीको अवसर गुम्दै गएको गुनासो गरेका छन् ।
व्यवसायीहरुले पछिल्लो समय कतार, बहराइन, दुवइ लगायतका मुलुकबाट आएका मागपत्र सम्बन्धित देशका दूतावासबाट स्वीकृत नभएको गुनासो गरेका हुन् ।
खाडी मुलुकबाट करिब ७० हजारको संख्यामा कामदार माग हुने गरी मागपत्र आउने क्रममा रहेको तर कोभिडलाई देखाउँदै दूतावासहरुले स्वीकृत नगरिदिदा वैदेशिक रोजगारीको माग गुम्ने स्थिति आउन लागेको बताएका हुन् ।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बैठकमा उपस्थित व्यवसायीहरुले उक्त गुनासो गरेका हुन् ।
मन्त्रिपरिषद्को भदौ १४ गतेको बैठकले वैदेशिक रोजागरीलाई खुल्ला गरेको भएपनि दूतावासहरुले मागपत्र प्रमाणिकरण नगरिदिँदा वैदेशिक रोजगारका लागि नयाँ कामदार पठाउन नसकिएको उनिहरुको भनाइ छ ।
वैदेशिक रोजागरका निमित्त आएका मागपत्रको प्रमाणिकरण नभए नेपालका लागि आएको माग अन्य मुलुकमा जान सक्ने जोखिम रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताउनुभयो ।
लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले दुबईबाट आएको मागपत्र स्वीकृत नहुँदा भिजिट भिसामा रोजगारीका लागि जानेहरुको संख्या बढेको बताउनुभयो ।
भिजिट भिसामा गई कामगर्नु अवैध भएपनि युवाहरु काम खोज्नका लागि खाडी मुलुक जान बाध्य भएको उहाँको भनाइ थियो ।
नेपालबाट दैनिक ५ सय देखि ७ सयको संख्यामा भिजिट भिसामा खाडी मुलुक गएको र एयरपोर्टमा करोडौंको चलखेल हुने गरेको अध्यक्ष ढकालले दावी गर्नुभयो ।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा जानेहरुका लागि पूर्व स्वीकृति र अन्तिम स्वीकृृति दिन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्